दार्चुलामा करिब ७५ प्रतिशत घरधुरीमा बिजुली पुग्यो

विद्युतीकरणको काम तीव्र

दार्चुलाका ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र गतिमा अघि बढिरहेको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालन भइरहेको दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै नौ वटै स्थानीय तहमा विद्युत् विस्तार भइरहेको हो।

दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रोशनकुमार ठाकुरका अनुसार हालसम्म जिल्लाका २९ हजार घरधुरीमध्ये करिब २२ हजार पाँच सय घरधुरीमा बिजुली पुगिसकेको छ। ग्रामीण बस्तीहरूमा मुख्य लाइन र शाखा लाइन निर्माणको काम जारी छ।

उक्त आयोजनाअन्तर्गत थप करिब दुई हजार पाँच सय घरधुरीमा विद्युत् पुर्‍याउन लाइन निर्माण सम्पन्न भई प्रसारणको अन्तिम तयारी भइरहेको बताइएको छ। बाँकी घरधुरीमा विद्युतीकरणका लागि आवश्यक बजेट माग गरिएको र स्वीकृत भएलगत्तै थप विस्तार कार्य अघि बढाइने ठाकुरले जानकारी दिनुभयो।

यसअघि जिल्लामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण हुँदै आएकोमा हाल आयोजनामार्फत थप ट्रान्सफर्मर जडान गरिएका छन्।

यसैबीच, नेपाल–भारत सीमावर्ती क्षेत्र व्यास गाउँपालिका–२ स्थित मालगाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी १५ घरधुरीमा विद्युत् सेवा पुर्‍याइएको छ। स्थानीय जनकसिंह धामीले लामो समय अन्धकारमा बिताएपछि गाउँमा बिजुली पुगेकोमा खुशी व्यक्त गरेका छन्।

महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकालगायत अधिकांश क्षेत्रमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको छ। साथै व्यास, मार्मा, नौगाड र अपि हिमाल गाउँपालिकामा पनि विस्तार कार्य जारी रहेको छ।

हाल दार्चुलामा करिब ७५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ। बाँकी क्षेत्रमा विद्युतीकरणका लागि बजेट व्यवस्थापनको पहल भइरहेको जनाइएको छ।

जिल्लामा हाल शैल्यशिखर नगरपालिकाको बलाँच, महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरी तीनवटा सबस्टेसनमार्फत विद्युत् वितरण भइरहेको छ।

Leave A Reply

Your email address will not be published.