दार्चुला । दुहुँ गाउँपालिकाले तेस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्ने सूचना जारी गरेको छ। गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्वारा जारी सूचनाअनुसार आगामी निर्धारित मितिहरूमा विभिन्न वडाहरूमा भुक्तानी शिविर सञ्चालन गरिनेछ।
सूचना अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक सँगको समन्वयमा लाभग्राहीहरूको सहजताका लागि वडा–वडामै पुगेर भत्ता वितरण गरिने व्यवस्था मिलाइएको छ। यसका लागि लाभग्राहीहरूलाई तोकिएको मिति र स्थानमा उपस्थित भई भत्ता बुझ्न आग्रह गरिएको छ।
तालिका अनुसार वडा नं. ३, ४, ५, २ र १ का लाभग्राहीहरूका लागि क्रमश: फरक–फरक मितिमा सम्बन्धित वडा कार्यालय तथा बैंकमार्फत भुक्तानी गरिनेछ।
गाउँपालिकाले भत्ता लिन आउँदा आवश्यक कागजात अनिवार्य रूपमा ल्याउन समेत आग्रह गरेको छ। आवश्यक कागजातमा राष्ट्रिय परिचयपत्र (भएको खण्डमा), सामाजिक सुरक्षा भत्ता प्राप्त परिचयपत्र, लाभग्राहीको नागरिकता तथा संरक्षकको हकमा सम्बन्धित कागजातहरू समावेश छन्। गाउँपालिकाले समयमै उपस्थित भई सेवा लिन सबै लाभग्राहीहरूलाई अनुरोध गरेको छ।
