दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि पालिकास्तरीय सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला भूमि आयोग दार्चुलाका अध्यक्ष लालसिंह धामी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
बैठकमा गाउँपालिका उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत दिपकराज जोशी, जिल्ला भूमि आयोगका सदस्य नारायणदत्त भट्ट, नापी कार्यालयका निमित्त प्रमुख प्रेम अवस्थी, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
गाउँपालिकाको भूमि शाखा प्रमुख पुस्कर सिंह बगालका अनुसार, लेकम गाउँपालिकाभित्रका ६ वटै वडाबाट प्राप्त निवेदनका आधारमा १५० जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ।
बैठकले प्रक्रिया पूरा गरेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक समन्वय गर्ने निर्णय गरेको जनाएको छ। गाउँपालिकाले सम्बन्धित निकायसँग सहकार्य गर्दै छिट्टै लालपुर्जा वितरण गर्ने लक्ष्य लिएको छ।