कैलाली । सुदूरपश्चिम प्रदेशका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान औपचारिक रूपमा सुरु गरेको छ।
अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली दार्चुलाको अपि हिमालको बेस क्याम्पतर्फ प्रस्थान गरेको छ। सोमबार आज बिहान धनगढीबाट उत्साहजनक माहोलबीच ३० सदस्यीय टोली यात्रामा निस्किएको हो। करिब १० दिनसम्म चल्ने यस यात्रामा सहभागी टोलीले सुदूरपश्चिमकै उच्च हिमशिखरमध्ये एक मानिने अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको छ।
मेयर हमालले सुदूरपश्चिममा अपार पर्यटन सम्भावना हुँदाहुँदै पनि अपेक्षित प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै स्थानीय सरकारकै सक्रियतामा यस अभियानको सुरुवात गरिएको बताए।
‘हाम्रो भूगोल, हाम्रो पहिचान र हाम्रो सम्पदालाई हामी आफैंले चिनाउनुपर्छ भन्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो,’ उनले भने, ‘यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न मद्दत पुर्याउने विश्वास लिएका छौँ। ’‘सुन्दर सुदूरपश्चिम’ अभियानका अभियन्तासमेत रहेका हमालले यस यात्रामार्फत हिमाली क्षेत्रको सौन्दर्य, स्थानीय संस्कृति, जीवनशैली तथा सम्भावनालाई उजागर गर्ने योजना रहेको जानकारी दिए।
साथै, पर्यटन पूर्वाधार विकास, पदमार्ग व्यवस्थापन र स्थानीयस्तरमा रोजगारी सिर्जनासम्बन्धी सन्देश पनि अभियानमार्फत प्रवाह गरिने उनले बताए। दार्चुलाको अपि बेस क्याम्प यात्रामा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ।
सहभागीहरूले यात्राको क्रममा विभिन्न स्थानमा स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने, सम्भावित पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्ने तथा प्रचार सामग्री उत्पादन गर्ने योजना बनाएका छन्।