दार्चुलामा गाई काटेको आरोपमा दुई जना पक्राउ

दार्चुला । दार्चुलामा गाई काटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा–१ लास्कुखोलाबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तेज लुहार र लोकेन्द्र भुल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

लास्कुखोलामा गाई काटेको सूचनाका आधारमा खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । जिल्ला सदरमुकाम खलंगाबाट लगेर गाईलाई लास्कुखोलामा काटेको पक्राउ परेका उनीहरुले प्रहरीलाई प्रारम्भीक बयान दिएका छन् ।

पक्राउ परेका मध्ये लोकेन्द्र भुल गाईको मासु खरिद गर्ने र तेज लुहार गाई काट्नमा सामेल भएको पनि बयानमा बताएका छन् । गाई काट्नमा अन्य व्यतिहरुपनि सामेल रहेकाले उनीहरुको खोजीकार्य समेत भइरहेको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.