धनसिह धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना भएको २८ वर्षमा २३ करोडभन्दा बढी शेयर पुँजी संकलन गर्न सफल भएको छ। सहकारीले हालसम्म २३ करोड ५६ हजार १ सय रुपैयाँ शेयर पुँजी र २२ करोड ८२ लाख ६१ हजार ५९५ रुपैयाँ संस्थागत पुँजी संकलन गरेको जनाएको छ।
२५ जना शेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले २६ हजार ८४६ सदस्य आबद्ध छन्। तीमध्ये २० हजार ३५२ महिला र ६ हजार ४९४ पुरुष रहेका छन्। सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दका अनुसार संस्थाले सदस्य विस्तारसँगै वित्तीय गतिविधि पनि उल्लेख्य रूपमा बढाएको छ।
हालसम्म ७ हजार ९९५ सदस्यले १ अर्ब ७० करोड ९५ लाख ६५ हजार ३६९ रुपैयाँ ऋण लिएका छन् भने २ अर्ब १६ करोड ३४ लाख ९५ हजार ४४१ रुपैयाँ बचत संकलन भएको छ। सहकारीले २१ करोड ७३ लाख २२ हजार ९१२ रुपैयाँ जगेडा कोष स्थापना गरेको छ भने ११ करोड ४४ लाख ५२ हजार ७६८ रुपैयाँ जोखिमयुक्त कर्जा प्रवाह गरेको जनाएको छ।
यस अवधिमा सहकारीले २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ विभिन्न करबापत नेपाल सरकारलाई बुझाएको छ। उत्पादनमूलक क्षेत्रका लागि ९.७५ प्रतिशत र अनुत्पादन क्षेत्रमा १२ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ।
सहकारीले आफ्ना सदस्यलाई १५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ भने डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस सेवा, कस्टमर केयर सेन्टर र राइस मिल सञ्चालन जस्ता सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ। संस्थाले ७२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ र सामाजिक क्षेत्रमा समेत सक्रिय रहेको छ।
यद्यपि सहकारी क्षेत्रले दोहोरो सदस्यता, भाका नाघेका कर्जा असुली, नियामक निकायका फरक निर्देशन, दक्ष जनशक्ति अभाव र सदस्यमा चेतनाको कमी जस्ता चुनौतीहरू सामना गरिरहेको जनाएको छ।
सोमबार आयोजित कार्यक्रममा सहकारीका सदस्य तथा जनप्रतिनिधिबीच समस्याबारे छलफल गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य जनक सिंह धामीलाई १६ बुँदे ज्ञापनपत्र बुझाइएको थियो। ज्ञापनपत्रमा सहकारी क्षेत्र सुधार, खराब कर्जा असुली, सम्पत्ति व्यवस्थापन कम्पनी गठन, दोहोरो सदस्यता अन्त्य लगायतका मागहरू समेटिएका छन्।
कार्यक्रममा बोल्दै सांसद धामीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन र अनियमितता गर्नेहरूलाई कानुनी कारबाही गरिने बताए। कार्यक्रममा सहकारीले उनलाई सम्मानसमेत गरेको थियो।