दुम्लिङ गाउँसम्म पहिलोपटक गाडी पुग्यो, नेपाली सेनाले १२ किलोमिटर सडकमा सञ्चालन गरायो यातायात

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँसम्म पहिलोपटक गाडी पुगेको छ । नेपाली सेनाले शून्य बिन्दु तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि शुक्रबार गाडी सञ्चालन गरिएको हो । तुषारपानीदेखि तिङ्करसम्म निर्माणाधीन कुल ७९ किलोमिटर सडकअन्तर्गत नेपाली सेनाले हालसम्म २२ दशमलव १५ किलोमिटर सडकको ट्र्याक खोलिसकेको जनाएको छ । त्यसमध्ये १२ किलोमिटर सडक खण्डमा सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

नेपाली सेनाले आर्थिक वर्ष २०७७/०७८ देखि उक्त सडक निर्माण कार्य अघि बढाउँदै आएको छ । दुर्गम हिमाली क्षेत्र जोड्ने रणनीतिक महत्वको यस सडकले व्यास क्षेत्रका स्थानीयलाई यातायात, स्वास्थ्य, शिक्षा तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले दुम्लिङसम्म सडक र सवारी पुगेपछि दशकौँदेखिको यातायात समस्यामा राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । तिङ्कर नाका जोड्ने लक्ष्यसहित सडक निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइएको नेपाली सेनाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.