दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्र सेवा अवरुद्ध भएको छ ।
राष्ट्रिय परिचयपत्रको केन्द्रीय सर्भर प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा केही दिनदेखि प्रभावित बनेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र सेवा निर्वाध रूपमा सञ्चालन हुन नसकेको जनाएका हुन् ।
सेवामा आएको अवरोधका कारण सेवाग्राहीमा परेको असुविधाप्रति कार्यालयले क्षमायाचना गर्दै केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्या समाधानका लागि मर्मत कार्य जारी रहेको रसेवा यथाशीघ्र सुचारू गराउन प्राविधिकहरू खटिइरहेका उल्लेख गरेका छन् ।
कार्यालयले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन कार्यालयमा आउनुअघि सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न वा कार्यालयको फेसबुक पेजमा प्रकाशित सूचना हेरेर मात्रै आउन आग्रह समेत गरेको छ ।
