दार्चुलाका सामुदायिक तथा सरकारी वन अतिक्रमण हटाउन एकहप्ताको अल्टिमेटम

दार्चुला । वन अतिक्रमण गरी बनाइएका घरटहरा तथा संरचना हटाउन डिभिजन वन कार्यालयले ७ दिने अल्टिमेटम दिएको छ ।
डिभिजन वन कार्यालय दार्चुला अन्तर्गतको महाकाली सव डिभिजन वन कार्यालय जोलजीवीले सूचना जारी गर्दै विभिन्न ठाउँमा सामुदायिक वन अतिक्रमण गरि बनाईएका संरचना हटाउन आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दार्चुला र डिभिजन वन कार्यालय दार्चुलाबाट प्राप्त पत्रादेशका आधारमा सरकारी तथा सार्वजनिक वन क्षेत्रको पहिचान गरी विवरण संकलन गर्ने कार्य अघि बढाइएको महाकाली सव डिभिजन वन कार्यालयका फरेष्टर मानबहादुर नाथले बताए । सोही क्रममा अतिक्रमण गरी बनाइएका घरछाप्रा, पसल तथा अन्य जुनसुकै संरचना हटाई आफ्नो सरसामान लैजान सम्बन्धित पक्षलाई आग्रह गरिएको उनले बताए ।

कार्यालयले मालिकार्जुन–३ को माधीदेउ, धौखानी र तितेखोली सामुदायिक वन, वडा नम्बर ४ को हुनशिखर सामुदायिक वन, मालिकर्जुन–७ को बालिचन सामुदायिक वन, लेकम–३ को ठुलाढोल सामुदायिक वन लगायत विभिन्न क्षेत्रमा वन अतिक्रमण भएको जनाएको छ ।

साथै मालिकार्जुन मन्दिर परिसरदेखि चैतलीचौर, ऐरीक्षेना, शंकरपुर, धामीगडा, मेलखेत, भर्तोला, दत्तु, असिगडा, धाप, खलंगा हुँदै कौटेसम्मको महाकाली करिडोर सडक क्षेत्र तथा सामुदायिक विद्यालय आसपासका क्षेत्रमा समेत वन क्षेत्र अतिक्रमण गरि संरचना निर्माण गरिएको कार्यालयले जनाएको छ।

सात दिनभित्र अतिक्रमित वन क्षेत्र खाली गर्न आग्रह गरिएको छ । तोकिएको समयभित्र क्षेत्र खाली नगरे वन ऐन तथा नियमावलीअनुसार हटाउने र कानुनी कारबाही प्रक्रिया समेत अघि बढाइने चेतावनी दिइएको छ ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.