बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

दार्चुला – बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा आइतबार राती दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनु भयो।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० बर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राती बाटोमै मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए । उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

जिपमा सवार ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ बर्षीय धनबहादुर चन्द, ६५ बर्षीय प्रेमबहादुर चन्द, ६५ बर्षीय तारासिंह थापा र ५८ बर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ बर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका र उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.