बैतडीमा स्काभेटरको ठक्करबाट एकजनाको मृत्यु

बैतडी–बैतडीमा स्काभेटरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–५ कुवाकोट, खोलीगाउँका अन्दाजी ४० बर्षीय दलबहादुर बोहराको स्काभेटरको ठक्करबाट मृत्यु भएको वडा अध्यक्ष नागीसिंह खडायतले जानकारी दिए ।

दहताल–मुसीकोट सडक निर्माण गर्ने क्रममा बोहरालाई स्काभेटरले ठक्कर दिएको थियो । उक्त सडक निर्माण समितिका अध्यक्ष समेत रहेका बोहरालाई सडक निर्माणको क्रममा बिहीबार बिहान साढे सातबजेतिर स्काभेटरको पछाडीको भागले ठक्कर लागेको वडा अध्यक्ष खडायतले बताए ।

उनले भने, ‘सडक बोर्डको १९ लाख बजेटमा दहताल–मुसीकोट सडक निर्माणको काम चलिरहेको छ । उक्त सडक निर्माण समितिको अध्यक्ष भएको हुनाले बोहराजी पनि त्यही जानु भएको थियो । सडक काटिरहेको अवस्थामा स्काभेटरको पछाडीपट्टीको भागले ठक्कर लागेको रहेछ ।’

स्काभेटकारको ठक्करबाट गम्भीर घाइते भएका बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

स्काभेटर चालक बझाङको बित्थडचीर गाउँपालिकाको देउलेकका अन्दाजी ३० बर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी पुगेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको वडा अध्यक्ष खडायतले बताए ।

मृतक बोहराको घरमा श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । मृतक बोहरा नेपाली कांग्रेसका पूर्व वडा सभापति समेत रहेका थिए । बोहराको निधनले पार्टीमा अपूरणीय क्षति भएको बैतडी कांग्रेसका नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.