कञ्चनपुर, २२ जेष्ठ।
कञ्चनपुरको बेलौरीका युवालाई विपद् व्यवस्थापन(उद्दार) तालिम दिईएको छ । भैपरी आउने प्राकृतिक विपदसँग सामना गर्नका लागि स्थानीय युवा स्वयंसेवकलाई तालिम दिईएको हो ।
सीमावर्ती बेलौरी नगरपालिका विपत् व्यवस्थापन शाखाले विपत् प्रतिकार्यका लागि नगरका युवाहरूलाई स्वयंसेवक तालिम दिएको जनाएको छ । बेलौरी नगरपालिका विपत् व्यवस्थापन शाखा प्रमुख अशोक पाण्डेयले एकहप्ते तालिम दिएको बताए । उनका अनुसार नगरका १० वटै वडाहरुबाट ३ जनाका दले ३० जनालाई तालिम दिईएको छ ।
तालिममा बाढी, डुबान, कटान, आगलागी, भूकम्पसहितका विविध प्रकृतिका विपत् पूर्वतयारी, विपतका वेला उद्धारदेखि विपतपश्चात् पुर्नस्थापना लगायत व्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणले स्वयमसेवी युवाहरुलाई तालिम दिएको थियो । शुक्रबार एक कार्यक्तमका विच तालिम समापन गरिएको छ ।
सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश इन्चार्ज सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) दिग्यविजय सुवेदीले विपत् प्रतिकार्यका लागि समुदायकै युवाहरूलाई तालिम आवश्यक रहेकोे औँल्याए। बेलौरी नगरका मेयर पोतीलाल चौधरीले सबै प्रकृतिका विपत्, प्रकोपबाट मानवीय तथा भौतिक क्षति रोक्नका लागि सामुदाय स्तरबाटै तालिम सञ्चालन गर्न लागेको बताए ।
मेयर चौधरीले विपत् प्रतिकार्यदेखिका कार्यमा समुदाय सक्षम बनाउन तालिम दिन लागेको बताए । मेयर चौधरीले तालिममा सिकेका विषयवस्तु विपतका वेला व्यावहारिक कार्यान्वयन गर्नसमेत आह्वान गरेका छन् । आगामी वर्षहरूमा टोलस्तरमा समेत तालिम दिएर विपत् प्रतिकार्यात्मक कामकाज सहज बनाउने बताए ।
विपत् व्यवस्थापन तालिम पाएपछि स्थानीय युवाले आगामी दिनमा विपत् प्रतिकार्यमा खटिने अनुभव व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्कीले राज्यका निकाय उपस्थित हुनु अघि समुदाय स्तरबाटै तालिम लिएका स्वयम सेवकहरुले विपद् कार्यको उद्दारमा खटिनुपर्नेमा जोडदिए । गत बर्षमा पनि बेलौरीले युवालाई तालिम लिएको र समुदायमा विपद्संग सामना गर्नका लागि पालिकाले विपद् व्यवस्थापनमा आवश्यक तयारी निरन्तर जारी राखेको छ । बेलौरीको शिरानाीमा रहेको चुरे भएर बग्ने दोदा नदी सहितका खोला नालाबाट बेलौरी वाढी,डुवानको जोखिममा छ ।