कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या ५ लाख नाघ्यो

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या ५ लाख नाघेको छ । १ वैशाखदेखि क्रियाशील अद्यावधिक सुरु भए पनि सुरुका दिनमा यसले गति लिन सकेको थिएन । २१ जेठसम्म अद्यावधिक गर्न मिल्ने समयसीमा बढाएर २८ जेठसम्म पुर्‍याइएको छ ।

क्रियाशील अद्यावधिक गराउनेको संख्या बढ्दै गएको महामन्त्री तथा सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलले जानकारी दिए । ‘४ लाख ५१ हजार वडाबाट ५८ हजार आफैँले भरेको गरेर ५ लाख ९ हजार पुगेको छ,’ पौडेलले शिलापत्रसँग भने ।

कांग्रेसमा २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा ८ लाख बढी क्रियाशील सदस्यता कायम भएको थियो । १५औँ महाधिवेशन लक्षित गर्दै गत पुससम्म करिब ६ लाख जनाले क्रियाशील नवीकरण गराएका थिए । सो बेला नवीकरण गरेकाहरूलाई अहिले विवरण माग गरेर अद्यावधिक गरिएको हो । अद्यावधिक गराउने विषयमा कांग्रेसको संस्थापनइतर समूहले असहयोग गर्दै आएको छ ।

कांग्रेसले क्रियाशील अद्यावधिक गर्न नमान्ने र जिम्मेवारीमा भएर पनि अटेरी गर्ने वडा सभापतिको विकल्पमा कार्यसमितिकै अर्को व्यक्तिलाई जिम्मेवारी दिएर अद्यावधिक काम गरिरहेको छ । त्यस्तै, पार्टीले पदाधिकारीहरूलाई प्रदेशगत रूपमा जिम्मेवारी दिएर क्रियाशील अद्यावधिक काम अनुगमनसमेत गर्न खटाएको छ ।

Leave A Reply

Your email address will not be published.