नयाँ सोच र रूपान्तरणकारी योजनासहित अपिहिमालको नीति तथा कार्यक्रम सार्वजनिक

दार्चुला । अपिहिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि केही नयाँ तथा केही निरन्तरता पाएका कार्यक्रम समेट्दै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले “सुन्दर, समृद्ध र विकसित अपिहिमाल” निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण संरक्षण, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ।

परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउने, रैथाने संस्कृति तथा सम्पदाको संरक्षण गर्ने, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने तथा प्रविधिमैत्री सेवा विस्तार गर्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ।

गाउँपालिकाले “एक वडा, एक आत्मनिर्भर उत्पादन कार्यक्रम” सञ्चालन गरी कृषि उत्पादनलाई व्यावसायिक र आत्मनिर्भर बनाउने नीति लिएको छ। प्राङ्गारिक मलको प्रयोगलाई प्रोत्साहन गर्दै अपिहिमाललाई अर्गानिक कार्यथलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

साथै वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न “रिटर्नी कृषि उद्यम साझेदारी कार्यक्रम” सञ्चालन गरिने भएको छ। पशुपालनलाई व्यावसायिक बनाउने उद्देश्यले उत्पादनमा आधारित प्रोत्साहन प्रणाली तथा पूर्ण पशु बिमा कार्यक्रम लागू गरिने जनाइएको छ।

पर्यटन विकासतर्फ गाउँपालिकाले अपिहिमाल आधार शिविर, तामाखानी, धरमघर, कपिल हिमाल बेसक्याम्प, सातगंगा–चाइमटेला क्षेत्र तथा बयली ताललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ। रैथाने खानपान, होमस्टे तथा “भेडिगोठ बास” जस्ता कार्यक्रममार्फत कृषि र पर्यटनलाई आयआर्जनसँग जोड्ने नीति लिइएको छ। पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि “अपिहिमाल पर्यटन डिजिटल अभियान” सञ्चालन गरिने उल्लेख गरिएको छ।

रोजगारी तथा उद्यमशीलता प्रवद्र्धनका लागि “स्थानीय रोजगार बैंक” स्थापना गरिने भएको छ। दुर्गम क्षेत्रका उद्यमीलाई प्रविधिसँग जोड्न “उद्यमीको आँगनमा प्रविधि” अभियान तथा परम्परागत हस्तकलाको संरक्षण र प्रवद्र्धनका लागि “पुख्र्यौली सीप, आधुनिक पहिचान” कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्य क्षेत्रमा डिजिटल सेवाको विस्तार गर्दै “स्मार्ट हेल्थ” कार्यक्रम लागू गरिने भएको छ। टेलिहेल्थ तथा टेलिमेडिसिन सेवामार्फत दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। खण्डेश्वरी स्वास्थ्य चौकीलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्ने, महिलाका लागि पाठेघरको मुख तथा स्तन क्यान्सरको नि:शुल्क परीक्षण गर्ने र बालबालिकाका लागि “खोज र खोप” अभियान सञ्चालन गर्ने नीति लिइएको छ।

शिक्षा क्षेत्रमा सबै सामुदायिक विद्यालयमा चरणबद्ध रूपमा स्मार्ट क्लासरुमको अवधारणा लागू गरिने भएको छ। प्रत्येक वडामा कम्तीमा एक नमुना विद्यालय विकास गर्ने तथा आर्थिक रूपमा विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएसलगायत उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

श्रमदानको संस्कृतिलाई संस्थागत गर्न “मेरो गाउँ, मेरो पसिना” अभियानलाई अनिवार्य बनाइने भएको छ। महिनाको एक दिन जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको सहभागितामा सार्वजनिक पूर्वाधार निर्माण तथा मर्मतसम्भार गरिनेछ। खानेपानी व्यवस्थापनका लागि “एक घर एक धारा” अभियानलाई थप प्रभावकारी बनाउँदै डिजिटल महसुल संकलन प्रणाली लागू गरिनेछ भने मुहानको पानीको गुणस्तर परीक्षणका लागि “डिजिटल वाटर क्वालिटी ड्यासबोर्ड” सञ्चालन गरिनेछ।

वातावरण संरक्षणअन्तर्गत “फोहरबाट मोहर” अभियानमार्फत घरधुरी तहमा कम्पोस्टिङलाई प्रोत्साहन गरिनेछ। पानीका मुहान संरक्षणका लागि रिचार्ज पोखरी निर्माण तथा वृक्षारोपण अभियानलाई व्यापक बनाइने जनाइएको छ।

पूर्वाधार विकासमा दिगोपन र गुणस्तरलाई प्राथमिकता दिँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनलाई अनिवार्य बनाइएको छ। सार्वजनिक तथा निजी भवन निर्माणमा राष्ट्रिय भवन संहिता र भवन निर्माण आचारसंहिताको कडाइका साथ पालना गरिने तथा नक्सा पास र अभिलेखीकरण प्रक्रियालाई अनिवार्य गरिने नीति तय गरिएको छ।

निर्माण कार्यमा उपभोक्ता समितिको प्रयोग न्यून गर्दै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) मार्फत प्रतिस्पर्धात्मक खरिद प्रक्रियालाई प्राथमिकता दिइने भएको छ। साना–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्दै दीर्घकालीन प्रतिफल दिने रूपान्तरणकारी आयोजनामा लगानी केन्द्रित गरिने नीति गाउँपालिकाले लिएको छ।

विपद् व्यवस्थापनलाई विकास योजनासँग जोड्दै बाढी, पहिरो र आगलागीलगायतका जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने भएका छन्। सुरक्षा निकाय तथा रेडक्रससँगको सहकार्यमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाइने र प्रकोप व्यवस्थापन कोषलाई थप व्यवस्थित गरिने जनाइएको छ।

यसैगरी खाली तथा ऐलानी जग्गामा व्यावसायिक वृक्षारोपण र जडीबुटी खेतीलाई प्रोत्साहन गर्दै वन क्षेत्रलाई रोजगारी र राजस्व वृद्धिको प्रमुख आधार बनाउने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

अपिहिमाल गाउँपालिकाले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ भने बुधबार गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.