दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत कम्प्युटर अपरेटर मोहन दत्त भट्ट ‘मासिक उत्कृष्ट कर्मचारी’ बनेका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले गएको गत जेठदेखि मासिक उत्कृष्ट कर्मचारी घोषणा गर्न थालेको हो ।
जेठ महिनाको मासिक उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर भट्टलाई ‘इम्प्लोई अफ द मन्थ’ घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उत्कृष्ट कर्मचारी घोषणा भएका भट्टलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ ।
कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
यस्तै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको बैठकले कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने बिषयमा समेत छलफल गरिएको छ ।
उत्कृष्ट सेवा प्रवाह, सुशासन र कर्मचारीहरुको उत्प्रेरणाका लागि कार्यालय प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ ।
