काठा दुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–वडा २ दुम्लिङस्थित काठा दुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । मंगलबार प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले झोलुङ्गे पुलको उद्घाटन गरेका हुन ।
दुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको करिब ७२ मिटर लामो झोलुङ्गे पुल अढाई महिनामै सम्पन्न भएपछि पुलको आज उद्घाटन गरिएको संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले जानकारी दिए ।
गत चैत २४ गते पुलको शिलान्यास गरेर हर्क साम्पाङ काठमाडौ फर्किएका थिए पुल निर्माण सम्पन्न भएपछि उद्घाटनका लागि उनी असार १५ गते बेलुकी दार्चुला पुगेका थिए ।

पुल निर्माणमा चार सयभन्दा बढी स्वयंसेवक सहभागी भएका थिए। नेपालका विभिन्न जिल्लाबाट नागरिकहरू दुम्लिङ पुगेर श्रमदान गरेका थिए।

स्थानीय सविता बुढाथोकीले पुल निर्माणपछि विद्यालय जाने बालबालिका तथा स्थानीयवासीलाई खोला वारपार गर्न सहज भएको बताइन्। उनका अनुसार वर्षायामका चार महिना जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब हटेको छ।

स्थानीय द्रोपती जोहारीले पनि पुल बनेसँगै खोला तर्ने समस्या अन्त्य भएको बताइन्। यसअघि सोही स्थानमा दुई पटक सरकारी निकायबाट सर्वेक्षण गरिए पनि पुल निर्माण हुन नसक्दा स्थानीय जोखिमपूर्ण रूपमा खोला पार गर्न बाध्य थिए।

पुल निर्माणका प्राविधिक इन्जिनियर डम्बर लिम्बूका अनुसार स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखी झोलुङ्गे पुल निर्माण गरिएको बताए । वर्षायाममा विद्यार्थी विद्यालय जान नसक्ने तथा यार्सागुम्बा संकलनका लागि जाने नागरिकलाई आवतजावतमा सहज बनाउन पुल निर्माण गरिएको उनले बताए।

स्थानीयवासीले अहिले पनि विगतदेखि प्रयोग हुँदै आएको तुइन विस्थापित गर्दै भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकार तथा सांसद साम्पाङसँग आग्रह गर्दै आएका छन्।

दार्चुलाको दुम्लिङमा स्थानीयवासी र स्वयंसेवकहरूको सक्रिय श्रमदानबाट छोटो समयमै झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि यो अभियान देशभर चर्चा र बहसको विषय बनेको छ। साम्पाङले अब दार्चुलापछि अर्को कुनै विकट गाउँमा पुगेर यस्तै श्रमदान अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.