दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत छुटको व्यवस्था गरेको छ।
शाखा कार्यालयका अनुसार कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार गत बिहीबार (असार १२) गते देखि लागू हुने गरी चामलमा प्रतिकिलो १० रुपैयाँ छुटसहित बिक्री वितरण सुरु गरिएको हो। यो सहुलियत छुट यही असार मसान्तसम्म मात्र लागू रहने कार्यालयले जनाएको छ।
नयाँ मूल्य सूचीअनुसार अरुवा मोटा चामलको साबिक प्रतिकिलो ५६ रुपैयाँ रहेको मूल्य १० रुपैयाँ छुटपछि ४६ रुपैयाँ कायम गरिएको छ। २५ किलोग्रामको एक बोरा अरुवा मोटा चामलको मूल्य १ हजार १५० रुपैयाँ तोकिएको छ।
त्यसैगरी, स्टिम जीरा मसिनो चामलको साबिक प्रतिकिलो ८४ रुपैयाँ रहेको मूल्य १० रुपैयाँ छुटपछि ७४ रुपैयाँ कायम गरिएको छ। उक्त चामलको २५ किलोग्रामको एक बोरा १ हजार ८५० रुपैयाँमा बिक्री गरिनेछ।
यता गहुँको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। गहुँको बिक्री मूल्य साबिककै प्रतिकिलो ५३ रुपैयाँ कायम गरिएको छ भने २५ किलोग्रामको एक बोराको मूल्य १ हजार ३२५ रुपैयाँ रहने कम्पनीले जनाएको छ।
