महाकाली करिडोरअन्तर्गत तिमुरपाटा–हुती–धौलाकोट सडक कालोपत्रका लागि टेन्डर आह्वान
दार्चुला । महाकाली करिडोरअन्तर्गत दार्चुलाको तिमुरपाटा–हुती–धौलाकोट सडक खण्डको ६.९ किलोमिटर सडक कालोपत्रे गर्न टेन्डर आह्वान गरिएको छ।
महाकाली करिडोर सडक आयोजना कार्यालयले बुधबार उक्त सडक कालोपत्रे निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको हो।
यो सडक कालोपत्रको लागि सरकारले ५१ करोड ९९ लाख रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिसकेको छ। स्रोत सुनिश्चित भएसँगै टेन्डर प्रक्रिया अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ।
लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको तिमुरपाटा–हुती–धौलाकोट सडक कालोपत्रे भएपछि स्थानीय बासिन्दाले सहज, सुरक्षित र वर्षैभरि सञ्चालनयोग्य सडक सुविधा पाउने अपेक्षा गरिएको छ।
साथै महाकाली करिडोरको यातायात सञ्जाललाई थप मजबुत बनाउन यो आयोजना महत्वपूर्ण हुने विश्वास गरिएको छ। टेन्डर प्रक्रिया सम्पन्न भएपछि निर्माण कम्पनी छनोट गरी तोकिएको समयसीमाभित्र कालोपत्रे कार्य सुरु गरिनेछ।
