पाँच दिनपछि गोकुलेश्वर–रिठाचौपाता–लाली सडक खुलाउने काम सुरु

दार्चुला । लगातारको अविरल वर्षाका कारण विगत पाँच दिनदेखि अवरुद्ध रहेको गोकुलेश्वर–रिठाचौपाता–लाली सडकखण्ड खुलाउने कार्य आजदेखि सुरु गरिएको छ।

लेकम गाउँपालिकाले आफ्नो ब्याकहो लोडर परिचालन गरी सडकमा खसेका पहिरो, ढुंगा तथा माटो हटाउने कामलाई तीव्रता दिएको जनाएको छ। अवरुद्ध सडकका विभिन्न स्थानमा निरन्तर रूपमा सफाइ तथा पहिरो पन्छाउने कार्य भइरहेको छ।

मौसम अनुकूल रहेमा आज दिउँसोसम्म रिठाचौपातादेखि गोकुलेश्वरसम्मको सडक सञ्चालनमा ल्याइने अपेक्षा गरिएको छ। सडक सञ्चालनमा आएपछि पाँच दिनदेखि यातायात सेवा अवरुद्ध हुँदा समस्यामा परेका स्थानीयवासी, यात्रु तथा सवारी चालकलाई राहत पुग्ने विश्वास गरिएको छ।

यद्यपि वर्षायाम अझै जारी रहेकाले थप पहिरो खस्ने तथा सडक जोखिम बढ्न सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित निकायले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न र यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.