दार्चुला । महाकाली करिडोरअन्तर्गत दार्चुलाको लाली–राडम–बाँकु सडकखण्डको एलाइनमेन्ट सम्बन्धी विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले हालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकले हालको एलाइनमेन्टका कारण जनधनमा कम क्षति पुग्ने, सडकलाई थप उपयोगी तथा किफायती बनाउन सकिने गरी डीपीआर संशोधन आवश्यक रहेको निष्कर्ष निकालेको हो। सोहीअनुसार नेपाल सरकारसँग आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
यसैगरी, बैठकले बैतडी, डडेल्धुरा हुँदै कञ्चनपुरको ब्रह्मदेवसम्म जोडिने सडकलाई छोटो र छरितो मार्गका रूपमा विकास गर्दै फास्ट ट्र्याक अवधारणामा अघि बढाउन पनि सरकारसँग अनुरोध गरेको छ।
उकु गाउँका नागरिकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउन पहुँच सडक निर्माणका लागि स्थानीय तह, सुदूरपश्चिम प्रदेश सरकार र सडक विभागबीच आवश्यक समन्वय गरी योजना कार्यान्वयन गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ।
सर्वपक्षीय बैठकले महाकाली करिडोरको सडक निर्माण स्थानीय आवश्यकता, जनधनको सुरक्षा तथा दीर्घकालीन उपयोगितालाई ध्यानमा राखी अघि बढाउनुपर्नेमा जोड दिएको छ।