गोकुलेश्वर इलाका प्रहरी कार्यालयमा साउन १ गते देखि जाहेरी दर्ता तथा अनुसन्धान हुने

दार्चुला । दार्चुलाको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगामी साउन १ गते देखि जाहेरी दर्ता तथा अनुसन्धान गर्न पाउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अन्वेषण योजना शाखा तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, अपराध अनुसन्धान शाखाको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई उक्त अधिकार प्रदान गरिएको हो ।

प्राप्त अख्तियारी अनुसार साउन १ गतेदेखि इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा नै सर्वसाधारणले जाहेरी दर्ता गराउन सक्ने तथा त्यससम्बन्धी अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।

कार्यालयको स्तरोन्नतिका लागि गरिएको पहलपछि प्राप्त भएको यस अख्तियारीले स्थानीय नागरिकलाई प्रहरी सेवा लिन थप सहज हुने विश्वास गरिएको उनको भनाई छ ।

यसअघि जाहेरी दर्ता तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा आउनुपर्ने अवस्था रहेकामा अब गोकुलेश्वरमै ती सेवा उपलब्ध हुने उनले बताए । प्रहरीले इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाटै कानुनी सेवा लिन अनुरोध समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.