तीन सातासम्म सुदूरपश्चिमको बजेट टेबुल भएन, पारित हुनेमा संशय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गरेको तीन साता पुगेको छ ।

१ असारको मध्यराति आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका थिए । तर, तीन सातासम्म बजेट टेबुल गर्न बाँकी छ ।

बजेट सार्वजनिकपछि प्रदेशसभा बैठक बस्न सकेको छैन । जसका कारण बजेसँगै त्यससँग सम्बन्धित विधेयकहरू पनि हालसम्म प्रदेशसभामा टेबुल भएका छैनन् ।

१ असारपछि स्थगित भएको प्रदेशसभा बैठक २३ असारको बिहान ११ बजे आह्वान गरिएको सचिवालयले जनाएको छ । ‘असार २३ गते प्रदेशसभाको आठौँ अधिवेशनको चौधौँ बैठक बस्ने सूचना जारी गरिसकेका छौँ,’ प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान (बजेट) बैठकमा टेबुल गर्ने कार्यसूची रहेको छ ।’

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा टेबुल गर्ने कार्यसूची रहेको जैशीले बताए । बैठकमा मुस्लिम आयोग, थारु आयोग, महालेखा परीक्षकको कार्यालय र मधेशी आयोगका वार्षिक प्रतिवेदनहरू पनि पेस गर्ने कार्यसूची रहेको छ ।

तीन सातापछि बजेटमाथि छलफल सुरु गर्ने तयारी भए पनि सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिँदा बजेट पारित हुनेमा आशंका भने कायम छ । सत्ताको प्रमुख साझेदार नेकपा (एमाले) बजेटमा संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिसकेको छ । एमाले सांसद धर्मराज पाठकका अनुसार संसदीय दलको बैठकमार्फत बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय भइसकेको छ ।

‘विनियोजन विधेयक टेबुल भएपछि प्रदेशसभामा बजेटको संशोधन दर्ता गराउने निर्णय गरेको गरेका छौँ,’ पाठकले भने । सुदूरपश्चिम सरकारमा एमालेबाट तीन जनामन्त्री र एक जना राज्यमन्त्री छन् । आफ्नै सरकारले ल्याएकोमा बजेटमा संशोधन प्रस्ताव ल्याउने निर्णयले बजेटको भविष्यमाथि आशंका उत्पन्न भएको हो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश सरकारले दलाल र बिचौलियाको हितलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताउँदै आएको छ । नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारको बजेट स्वीकार्य नहुने बताउँदै पारित हुन नदिन सबै सांसदलाई आग्रह गरे ।

‘मन्त्रालयमार्फत जानुपर्ने योजना मुख्यमन्त्रीको कार्यालयमा टाइप भएका छन्,’ उनले भने, ‘होटल र गोप्य ठाउँमा सुटकेस बुझेर योजना हाल्ने काम भएका छन् । त्यसैले बजेटलाई असफल गर्न सबै सांसदलाई आग्रह गर्दछु । बेथिति रोक्ने दायित्व सबैको हो । सत्ताधारीबाट पनि बजेट फेल गर्न पहल हुने अपेक्षा छ ।’

बजेटमा मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्र रावलका क्षेत्रका योजनाले प्राथमिकता पाएको आरोप लाग्दै आएको छ ।

यता, प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भने बजेट पारित हुनेमा कुनै आशंका नभएको बताउँछन् । ‘असारभित्रै बजेट पारित हुन्छ,’ उनले भने ।

१ असारको मध्यराति प्रदेशका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.