दार्चुला ।डिभिजन वन कार्यालय दार्चुलाले वन्यजन्तु संरक्षणलाई सबैको साझा दायित्व भएको उल्लेख गर्दै संरक्षण अभियानमा सक्रिय सहभागिता जनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयका अनुसार वन्यजन्तुले पारिस्थितिक सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा मानव अस्तित्व सुरक्षित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। अवैध शिकार, वन विनाश, बासस्थान अतिक्रमण र वन्यजन्तुको अवैध व्यापारका कारण विभिन्न प्रजाति जोखिममा परिरहेका छन्।

वन्यजन्तु संरक्षणका लागि प्राकृतिक बासस्थानको सुरक्षा, वन फँडानी र अतिक्रमण नियन्त्रण, अवैध शिकार तथा तस्करीविरुद्ध कडा कानुनी कारबाही, समुदायमा जनचेतना अभिवृद्धि तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरू अपनाउनुपर्ने कार्यालयले जनाएको छ। साथै घाइते तथा असहाय वन्यजन्तुको उद्धार र उपचार सेवाको पहुँच विस्तार गर्न पनि जोड दिइएको छ।
डिभिजन वन कार्यालय दार्चुलाले “प्रकृतिको सुन्दरता, वन्यजन्तुको सुरक्षा” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै वन्यजन्तु संरक्षण अभियानमा सबै नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।