एक साताभित्र दुहुँ गाउँपालिकामा गाउँबस सेवा सञ्चालन हुने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले एक साताभित्र गाउँबस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

गाउँपालिकाले खरिद गरेको नयाँ बस मंगलबारसम्म गाउँपालिकामा आइपुग्ने र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नियमित रूपमा सेवा सञ्चालन गरिने भएको हो।

गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालका अनुसार गाउँबस सञ्चालनका लागि खरिद गरिएको बसको नामसारीलगायतका आवश्यक प्रक्रिया सोमबार सम्पन्न गरिनेछ।

त्यसपछि मंगलबार बस गाउँपालिकामा ल्याइने र सञ्चालन अनुमति लगायतका बाँकी प्रक्रिया पूरा गरी एक साताभित्र सेवा सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए ।

यसअघि गाउँपालिकामा ल्याइएको बस केही समयमै धनगढी फिर्ता पठाइएको विषयमा अध्यक्ष बडालले स्पष्ट पार्दै उक्त बस गाउँपालिकाका लागि अन्तिम रूपमा खरिद गरिएको बस नभई अन्यत्र पठाउनुपर्ने बस भएकाले फिर्ता गरिएको बताए ।

यस्तै खरिद प्रक्रियाअनुसार गाउँपालिकाका लागि छुट्याइएको नयाँ बस नै अब गाउँपालिकामा ल्याउन लागिएको छ । गाउँबस सञ्चालनमा आएपछि दुहुँ गाउँपालिकाका विभिन्न बस्तीका स्थानीयलाई सहज, सुरक्षित र नियमित सार्वजनिक यातायात सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.