मालिकार्जुनमा ५० प्रतिशत अनुदानमा ५९ किसानलाई मुर्रा भैंसी वितरण

दार्चुला । मालिकार्जुन गाउँपालिकाले व्यावसायिक भैंसीपालन प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५९ वटा मुर्रा भैंसी वितरण गरेको छ।

गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीका अनुसार वडा नं. १, २, ३, ४ र ८ का किसानलाई अनुदानमा मुर्रा भैंसी उपलब्ध गराइएको हो। किसानलाई उत्पादनमुखी कृषि तथा पशुपालनमा आकर्षित गर्दै आर्थिक रूपमा सशक्त बनाउने लक्ष्यसहित गाउँपालिकाले प्रत्येक वर्ष यो कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ देखि यस क्षेत्रलाई भैंसी पकेट क्षेत्र घोषणा गरी दूध उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने उद्देश्यका साथ कार्यक्रम अघि बढाएको हो।

मुर्रा भैंसी पालन विस्तारसँगै स्थानीय स्तरमा दूध उत्पादन उल्लेखनीय रूपमा बढेको गाउँपालिकाको दाबी छ। हाल गाउँपालिकामा उत्पादन भएको दूध दैनिक रूपमा खलंगासम्म बिक्री तथा निर्यात भइरहेको छ।

अध्यक्ष धामीका अनुसार यस कार्यक्रमले स्थानीय कृषकको आम्दानी बढाउनुका साथै ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गर्न पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ।

गाउँपालिकाले आगामी दिनमा भैंसी पकेट कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै पशु स्वास्थ्य सेवा, घाँस उत्पादन, गोठ सुधार, दूध संकलन तथा बजार व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर कार्यक्रम विस्तार गर्ने जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.