दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा सञ्चालन भइरहेको दार्चुलाको दुम्लिङ झोलुङ्गे पुल निर्माण अभियान को आय–व्यय विवरण सार्वजनिक गरिएको छ।
हर्क साम्पाङको नेतृत्वमा सञ्चालन गरिएको दार्चुला झोलुङ्गे पुल निर्माण अभियान अन्तर्गत रु. २ करोड ५० लाख ३७ हजार १०१ रुपैयाँ १ पैसा संकलन भएको विवरण सार्वजनिक गरिएको छ।
अभियानले सार्वजनिक गरेको आय–व्यय विवरणअनुसार हाल रु. १ करोड २० लाख ६१ हजार ३ सय ३३ रुपैयाँ १ पैसा मौज्दात रहेको छ।
सार्वजनिक विवरणअनुसार क्यूआर (बैंक) मार्फत रु. २ करोड १ हजार ५ सय ६ रुपैयाँ १ पैसा र नगदबाट रु. ४९ लाख ३५ हजार ५ सय ९५ रुपैयाँ संकलन भएको थियो। यसरी बैंक र नगद गरी कुल रु. २ करोड ५० लाख ३७ हजार १०१ रुपैयाँ १ पैसा प्राप्त भएको उल्लेख गरिएको छ।
अभियानले हालसम्म रु. १ करोड २९ लाख २९ हजार ७ सय ६८ रुपैयाँ खर्च गरेको जनाएको छ। यसमध्ये झोलुङ्गे पुल निर्माणका सामग्री खरिदमा रु. ५५ लाख १३ हजार २ सय २३ रुपैयाँ खर्च भएको छ।
पुल निर्माणसँग सम्बन्धित खर्चमा झोलुङ्गे पुल सामग्री खरिदमा रु. ४५ लाख २७ हजार ३ सय ३४ रुपैयाँ, सर्वेमा रु. ४ लाख २४ हजार ३४ रुपैयाँ, मेसिन खरिदमा रु. ५ लाख २४ हजार ६ सय ५५ रुपैयाँ तथा अफिस डकुमेन्ट व्यवस्थापनमा रु. ३६ हजार ९ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यस्तै, प्रशासनिक खर्चतर्फ रु. ७४ लाख १५ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको छ। प्रशासनिक खर्चअन्तर्गत यातायातमा रु. २८ लाख ४८ हजार ३ सय ३३ रुपैयाँ, खाना खर्चमा रु. १६ लाख ४० हजार ६ सय ४२ रुपैयाँ, बसोबासका लागि क्याम्प व्यवस्थापनमा रु. ५ लाख ९१ हजार ५ सय ९५ रुपैयाँ तथा दुवानी एवं विविध खर्चमा रु. १२ लाख ३५ हजार ४ सय रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख गरिएको छ।
विवरणअनुसार हाल बैंकमा रु. १ करोड ४ लाख ४५ हजार ४ सय ९२ रुपैयाँ १ पैसा मौज्दात रहेको छ भने नगद मौज्दात रु. १६ लाख १५ हजार ८ सय ४१ रुपैयाँ रहेको छ। बैंक र नगद गरी कुल मौज्दात रु. १ करोड २० लाख ६१ हजार ३ सय ३३ रुपैयाँ १ पैसा रहेको अभियानले जनाएको छ।


