एमाले गाउँ कमिटी कार्यालयमा चोरी भएको दाबी, कानुनी कारबाहीको प्रक्रिया अघि बढ्यो

दार्चुला । नेकपा (एमाले) मालिकार्जुन गाउँ कमिटीले आफ्नो गाउँ कमिटी कार्यालयमा चोरी भएको दाबी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार गाउँ कमिटीको कार्यालय विगत चार वर्षदेखि मालिकार्जुन गाउँपालिका–स्थित घरधनी माधवराज पन्तको घरमा भाडामा सञ्चालन हुँदै आएको थियो।

विज्ञप्तिमा कार्यालयको ताला फुटाई घरधनी पन्तले अनाधिकृत रूपमा कोठा प्रयोग गरी पार्टीका महत्वपूर्ण कागजात, माइन्युट, छाप, लेटरप्याड, अन्य फाइल तथा भौतिक सामग्री चोरी तथा गायब गरेको आरोप लगाइएको छ।

एमालेले उक्त घटनाको सम्बन्धमा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी तथा सम्बन्धित निकायमा निवेदन पेश गरिसकेको र छानबिन प्रक्रिया अघि बढिरहेको जनाएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध रहेको उल्लेख गर्दै मालिकार्जुन गाउँपालिकाका सभापति दानसिंह खत्रीलगायत केही व्यक्तिले एमालेका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, गाउँपालिका प्रवक्ता मदनबहादुर चन्द तथा गाउँ कमिटीका कार्यालय सचिव मोहन सिंह धामीमाथि आधारहीन र भ्रामक आरोप लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

एमाले मालिकार्जुन गाउँ कमिटीले यस्ता आरोपलाई कपोलकल्पित, पूर्वाग्रही र चरित्रहत्या गर्ने उद्देश्यले फैलाइएको प्रचारबाजीको संज्ञा दिएको छ। साथै, सत्यतथ्य नबुझी भ्रमपूर्ण अभिव्यक्ति नदिन सम्बन्धित पक्षलाई आग्रह गर्दै आधारहीन आरोपप्रति गम्भीर आपत्ति जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.