दार्चुला । महाकाली नगरपालिका–४ स्थित बजार क्षेत्रमा वर्षायाम सुरु भएसँगै नाली व्यवस्थापनको समस्या जटिल बनेपछि स्थानीयवासी तथा होटल व्यवसायीहरूले नगरपालिकासँग तत्काल समाधानको माग गरेका छन्।
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै स्थानीयवासी तथा व्यवसायीहरूले संयुक्त रूपमा निवेदन बुझाएका हुन्।
निवेदनमा वर्षायाममा नालीको पानी सडकमा ओभरफ्लो हुँदा विशेषगरी पुरानो कर्बडहल नजिक रहेको नमुना विद्यालय अगाडिको सडक जलमग्न हुने गरेको उल्लेख गरिएको छ।
स्थानीयका अनुसार आकाशबाट परेको पानी नालीले सहज रूपमा निकास गर्न नसक्दा सम्पूर्ण पानी सडकमै बग्ने गरेको छ। यसका कारण सडक हिलाम्मे भई सर्वसाधारण, साना बालबालिका तथा विद्यार्थीलाई आवतजावत गर्न कठिनाइ भएको जनाइएको छ।
निवेदनमा नालीको पानी सडक सतहभन्दा करिब २ फिट माथिसम्म उठेर सडकमा फैलिने गरेको र त्यसले नजिकका पसल तथा होटलभित्र समेत पानी पस्दा व्यवसाय सञ्चालनमा प्रत्यक्ष असर परेको उल्लेख छ।
वर्षेनी दोहोरिने समस्याका कारण स्थानीयवासी तथा व्यवसायीहरूले लामो समयदेखि सास्ती भोग्दै आएको पनि निवेदनमा जनाइएको छ।
समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित प्राविधिक टोलीबाट स्थलगत निरीक्षण गरी नालीको उचित व्यवस्थापन, आवश्यक मर्मत तथा निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न स्थानीयले महाकाली नगरपालिकासँग आग्रह गरेका छन्। निवेदनमा बजार क्षेत्रका आम नागरिक तथा होटल व्यवसायीहरूको संयुक्त हस्ताक्षर रहेको छ।
