दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा दार्चुला र बैतडी जिल्लाबीच शान्ति सुरक्षा तथा साझा सुरक्षा चुनौतीबारे अन्तरजिल्ला समन्वय बैठक सम्पन्न भएको छ।
आज मंगलबार भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महत, जिल्ला प्रहरी कार्यालय बैतडीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपक कुमार राय तथा दुवै जिल्लाका मातहत कार्यालयमा कार्यरत प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो।
बैठकमा दार्चुला र बैतडी जिल्लाको शान्ति सुरक्षा अवस्था, राजमार्गमा सहज आवागमन, विपद् व्यवस्थापन, सीमाक्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा दुवै जिल्लासँग सम्बन्धित अन्य साझा सरोकारका विषयमा विस्तृत छलफल भएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक गौरव महतले बताए ।
प्रहरीका अनुसार बैठकमा अन्तरजिल्ला समन्वयलाई अझ प्रभावकारी बनाउने, सूचना आदान–प्रदानलाई तीव्रता दिने तथा सम्भावित सुरक्षा चुनौतीको संयुक्त रूपमा समन्वय गर्ने विषयमा छलफल भएको उनले बताए ।
यस्ता नियमित समन्वय बैठकले दार्चुला र बैतडी जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न, सीमाक्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न तथा विपद्का समयमा प्रभावकारी समन्वय कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।