आज र भोलि भारी वर्षाको चेतावनी : जिल्लावासीलाई उच्च सतर्कता अपनाउन दार्चुला प्रशासनको अपिल

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अविरल वर्षासँगै प्राकृतिक विपद्का घटना बढ्न सक्ने भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलद्वारा जारी सार्वजनिक सूचनामा जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारी अनुसार शनिबार र ३ गते आइतबार मनसुनी गतिविधि थप सक्रिय हुने उल्लेख गरिएको छ।

सूचनाअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। यसका कारण बाढी, पहिरो, गेग्रान बहाव, नदी तथा खोलामा पानीको सतह बढ्ने, सडक अवरुद्ध हुनेलगायतका विपद्का घटना हुन सक्ने भएकाले सबैलाई आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान, मौसमको जानकारी लिएर मात्रै यात्रा गर्न तथा नदी, खोला र पहिरोको जोखिम रहेका क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ। साथै, रातिको समयमा विशेष सतर्कता अपनाउन र विपद्को सम्भावित जोखिम देखिए तत्काल स्थानीय तह, सुरक्षा निकाय वा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

प्रशासनले विपद्को अवस्थामा आवश्यक उद्धार तथा राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिका सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.