डा. गोविन्द केसी दार्चुला पुगे, छाङरु–तिंकरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

दार्चुला । चिकित्सा शिक्षा सुधार अभियानका डा. गोविन्द केसी दार्चुला पुगेका छन्। कालापानी क्षेत्र नजिकका व्यास गाउँपालिकाका छाङरु र तिंकर गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यले आफू दार्चुला आएको उनले जानकारी दिएका छन्।

डा. केसीले यसअघि पनि विभिन्न समयमा दार्चुला पुगेर स्वास्थ्य सेवा प्रदान गरेको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला पनि छाङरु र तिंकरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने इच्छा रहेको भए पनि परिस्थितिका कारण सम्भव नभएको बताए। यसपटक भने ती दुर्गम बस्तीका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ दार्चुला आएको उनको भनाइ छ।

उनका अनुसार नेपालतर्फ सडक पहुँच नहुँदा छाङरु र तिंकर पुग्न भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता छ। तर भारतीय पक्षबाट आवश्यक प्रवेश अनुमति (पास) प्राप्त नभएकाले तत्काल ती गाउँ पुग्न नसकिएको उनले बताए।

हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. केसीले शिविरमा मुख्य रूपमा हाडजोर्नी र नसासम्बन्धी रोगको परीक्षण तथा उपचार सेवा उपलब्ध गराइने जानकारी दिए। साथै स्थानीय स्वास्थ्य संस्थामा उपलब्ध स्रोत–साधनको प्रयोग गरेर सम्भव भएसम्म आवश्यक शल्यक्रियासमेत गरिने उनले बताए।

शिविरका लागि आवश्यक औषधि व्यास गाउँपालिकाले उपलब्ध गराउने जानकारी आफूले पाएको पनि उनले उल्लेख गरे। छाङरु र तिंकरका स्थानीयवासीको आग्रह तथा आफ्नै प्रतिबद्धताअनुसार ती दुई गाउँमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको डा. केसीले बताए।

Leave A Reply

Your email address will not be published.