काठमाडौँ : प्रतिनिधिसभाको सोमबारको बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सम्भावित कार्यसूचीमा राखिएको छ ।
दिउँसो १ बजे बस्ने बैठकको शुुरुमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको छ ।
बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अरु दुई प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समावेश छ।
त्यस्तै, प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री गौतमले‘ नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ।
