बैतडी–बैतडीमा प्रमुख जिल्ला अधिकारी मीना अर्याल हाजिर भएकी छन् ।
गृहमन्त्रालयले उपसचिव अर्याललाई बैतडीको प्रमुख जिल्ला अधिकारीमा खटाएपछि उनी बिहीबार कार्यालयमा हाजिर भएकी हुन् ।
अर्याललाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारुले बताए । अर्याल बैतडीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा खटिएकी छन् ।
गृहमन्त्रालयले बैतडीसहित ९ ओटा पहाडी तथा हिमाली जिल्लाका प्रमुख जिल्ला अधिकारीमा उपसचिव खटाउने निर्णय गरेसँगै अर्याललाई बैतडीमा पठाइएको हो ।
सहसचिवको दरबन्दी कटौती गरेपछि बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको थियो । सहसचिव डा.भट्टराईलाई गएको चैत २२ गते गृहमन्त्रालयले बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको थियो । सहसचिवको दरबन्दी कटौती भएपछि उनको चार महिनामै जिल्लाबाट सरुवा भएका हुन् ।
बिहीबार कार्यालयमा हाजिर भएकी प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारीहरुसँग छलफल समेत गरेकी छन् ।
