महाकालीमा शिक्षकका लागि तीनदिने मनोसामाजिक परामर्श तालिम सम्पन्न

दार्चुला । विद्यार्थीमा देखिने मानसिक तनाव, भावनात्मक समस्या तथा पढाइको दबाबलाई समयमै पहिचान र सम्बोधन गर्ने उद्देश्यले महाकाली नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाका लागि आयोजित तीनदिने मनोसामाजिक परामर्शसम्बन्धी तालिम सम्पन्न भएको छ।

साइकोडेस्क फाउन्डेसन, महाकाली नगरपालिका र वल्र्डलिंक कम्युनिकेसन्सको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत संयुक्त रूपमा आयोजित तालिम भदौ १ देखि ३ गतेसम्म महाकाली नगरपालिकाको सभाहलमा सञ्चालन भएको थियो। तालिममा विभिन्न सामुदायिक विद्यालयका २२ जना शिक्षक–शिक्षिकाको सहभागिता रहेको थियो।

तालिममा कक्षाकोठामा मानसिक स्वास्थ्य, विद्यालयस्तरीय मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, सामाजिक–भावनात्मक सिकाइ, मानसिक स्वास्थ्यमा प्राथमिक सहयोग, विद्यार्थीको व्यवहारमा देखिने परिवर्तनको पहिचान, सक्रिय सुनाइ, सकारात्मक संवाद, तनाव व्यवस्थापन तथा आवश्यक अवस्थामा सम्बन्धित विशेषज्ञ वा सेवासँग समन्वय गर्ने विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

तालिमको सहजीकरण साइकोडेस्क फाउन्डेसनका संस्थापक तथा वरिष्ठ मनोविद् डा. नरेन्द्र ठगुन्नाले गरेका थिए। उनले विद्यार्थीको मानसिक तथा भावनात्मक अवस्थालाई बुझेर कक्षाकोठामा सुरक्षित, सहयोगी र सकारात्मक वातावरण निर्माण गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए।

विद्यार्थीमा देखिने व्यवहारिक परिवर्तनलाई समयमै पहिचान गरी संवेदनशील रूपमा सुन्ने, आवश्यक प्रारम्भिक सहयोग गर्ने र जटिल अवस्था देखिएमा सम्बन्धित विशेषज्ञ वा सेवासँग समन्वय गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा वल्र्डलिंक कम्युनिकेसन्सका सीएसआर म्यानेजर जनक राज हमालले तालिमबाट प्राप्त ज्ञान र सीपलाई शिक्षकहरूले विद्यालयमा प्रभावकारी रूपमा प्रयोग गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिसम्म मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे। आवश्यक गतिविधिमार्फत यसको पहुँच समुदायस्तरसम्म विस्तार गर्न सकिने उनको भनाइ थियो।

महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तर्कराज भट्टले विद्यालयमा विद्यार्थीको मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन कार्यक्रमले योगदान पुर्‍याएको बताए।

महाकाली नगरपालिकाका वरिष्ठ शाखा अधिकृत ईश्वरी ठगुन्ना धामीले विद्यार्थीमा देखिने मनोसामाजिक समस्याको प्रारम्भिक पहिचान तथा आवश्यक सहयोगका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि महत्वपूर्ण रहेको बताए। विद्यालयमा विद्यार्थीको व्यवहारमा आउने परिवर्तनलाई समयमै बुझेर उचित सहयोग पुर्‍याउन शिक्षकहरू सक्षम हुनुपर्ने उनको भनाइ थियो।

तालिमका सहभागी श्री राष्ट्रिय माध्यमिक विद्यालय, दत्तुका शिक्षक रमेश चैंसिरले तालिम निकै उपयोगी रहेको बताउँदै प्राप्त ज्ञानलाई दैनिक शिक्षण–सिकाइमा प्रयोग गर्न सकिने धारणा व्यक्त गरे। उनले यस्ता क्षमता विकास कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

तीनदिने तालिमले शिक्षकहरूलाई विद्यार्थीको मानसिक तथा भावनात्मक अवस्थालाई संवेदनशील रूपमा बुझ्न, प्रारम्भिक समस्या पहिचान गर्न र आवश्यक सहयोगका लागि उचित निकायसँग समन्वय गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ। तालिमबाट प्राप्त ज्ञानलाई कक्षाकोठा, विद्यालय, परिवार तथा समुदायस्तरसम्म पुर्‍याउँदै मानसिक स्वास्थ्यप्रति सचेत, सहयोगी र विद्यार्थीमैत्री वातावरण निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.