गोकुलेश्वरमा बसपार्क निर्माणका लागि जग्गा खोज्दै शैल्यशिखर नगरपालिका

दार्चुला । दार्चुलाको गोकुलेश्वरमा लामो समयदेखि देखिँदै आएको बसपार्कको समस्या समाधानका लागि शैल्यशिखर नगरपालिकाले जग्गा खोजी प्रक्रिया अघि बढाएको छ।

नगरपालिकाले बजार क्षेत्रबाट करिब एक किलोमिटर आसपासमा बसपार्क निर्माणका लागि कम्तीमा पाँच रोपनी जग्गा उपलब्ध गराउन इच्छुक जग्गादातासँग प्रतिबद्धता आह्वान गरेको हो। नगरपालिकाले भदौ ४ गते सूचना जारी गर्दै बसपार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन इच्छुक व्यक्तिलाई प्रतिबद्धता जनाउन आग्रह गरेको छ। साथै, बसपार्क निर्माणसम्बन्धी रचनात्मक सुझावसमेत भदौ मसान्तभित्र उपलब्ध गराउन नगरपालिकाले अनुरोध गरेको छ।

गोकुलेश्वरमा व्यवस्थित बसपार्क नहुँदा लामो समयदेखि यात्रुवाहक तथा अन्य सवारीसाधन सडक किनारमै पार्किङ गर्नुपर्ने अवस्था छ। यसका कारण बजार क्षेत्रमा सवारीसाधनको चाप बढ्नुका साथै पैदल यात्रु तथा सर्वसाधारणको आवतजावतमा समेत समस्या हुँदै आएको छ।

सडक किनारमा जथाभावी सवारीसाधन पार्किङ गर्दा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ। बस रोक्ने, यात्रु चढाउने–ओराल्ने तथा सवारीसाधन पार्किङ गर्ने छुट्टै संरचना नहुँदा गोकुलेश्वरको मुख्य सडक नै बसपार्कको विकल्पजस्तो बनेको छ।

गोकुलेश्वर दार्चुला–बैतडी जोड्ने मुख्य सडकसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रतर्फ जाने सवारीसाधनको प्रमुख केन्द्र हो। दैनिक ठूलो संख्यामा सवारीसाधन तथा यात्रुको आवतजावत हुने भए पनि व्यवस्थित बसपार्कको अभावमा बजार क्षेत्रमा यातायात व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ।

नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएसँगै लामो समयदेखि कायम रहेको गोकुलेश्वरको बसपार्क समस्या समाधान हुने अपेक्षा गरिएको छ। नगरपालिकाले प्राप्त प्रतिबद्धता र सुझावका आधारमा बसपार्क निर्माणको थप प्रक्रिया अघि बढाउने जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.