दार्चुला । जिल्ला प्रशासन कार्यालय, दार्चुलाको सभाहलमा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) र जिल्लास्थित स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र (एलईओसी) बीच विपद् व्यवस्थापन तथा प्रभावकारी समन्वयसम्बन्धी बैठक सम्पन्न भएको छ।
मंगलबार दिउँसो आयोजित बैठकमा जिल्लामा विपद्का समयमा अपनाउनुपर्ने तयारी, सूचना आदानप्रदान तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
बैठकमा विपद् पूर्वतयारी, सम्भावित जोखिमको न्यूनीकरण, आपतकालीन अवस्थामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने र डीईओसी तथा एलईओसीबीच आवश्यक सूचना तथा समन्वयलाई चुस्त बनाउने विषयमा जोड दिइएको उनले बताए ।
स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक तयारीलाई थप सुदृढ गर्दै विपद्का घटनामा तत्काल प्रतिकार्य गर्न सक्ने व्यवस्था मिलाउने विषयमा समेत छलफल भएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बैठकले जिल्लामा विपद् व्यवस्थापनका लागि विभिन्न तहका निकायबीच सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

