दार्चुला । रसुवा जिल्लामा भाद्र १० गते आएको भीषण बाढी तथा पहिरोका कारण दार्चुला स्थायी ठेगाना भई हाल काम, रोजगारी वा अन्य सिलसिलामा रसुवामा रहेका नागरिकसमेत प्रभावित भएको हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
प्रशासनले रसुवाको बाढी तथा पहिरोमा दार्चुलाका कुनै नागरिक प्रभावित, बेपत्ता वा जोखिममा परेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित परिवार तथा स्थानीय तहलाई सूचना संकलनमा सहयोग गर्न अनुरोध गरेको हो।
दार्चुलाका स्थानीय तह तथा वडास्तरमा रहेका कुनै व्यक्ति रसुवाको विपद् घटनामा परेको, बेपत्ता भएको वा राहत तथा खोज तथा उद्धारको आवश्यकता परेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।
जानकारी गराउँदा सम्बन्धित व्यक्तिको नाम, थर, स्थायी ठेगाना, सम्पर्क नम्बर तथा आफन्तको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ।
रसुवामा भएको विपद्का कारण दार्चुलाबाट रोजगारी तथा अन्य कामका लागि पुगेका नागरिकको अवस्थाबारे यकिन विवरण संकलन गरी आवश्यक समन्वय तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रशासनले यस्तो अनुरोध गरेको जनाएको छ।
