दार्चुला । हिमाली जिल्ला दार्चुलाको अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरीमा अझै सडक पुग्न सकेको छैन। भौगोलिक विकटता, कडा चट्टान र सीमित स्रोतसाधनका कारण गाउँपालिकाको केन्द्रसम्म कच्ची सडकसमेत पुग्न नसकेको हो।
दार्चुलामा दुई नगरपालिका र सात गाउँपालिका छन्। जिल्लाका अधिकांश स्थानीय तहका केन्द्र तथा केही वडा केन्द्रसम्म सडक पुगे पनि अपिहिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी भने अझै सडक सञ्जालबाट बाहिर छ।
सडक सुविधा नपुगे पनि प्राकृतिक सौन्दर्य, पर्यटकीय स्थल, जडीबुटी, मौलिक वेशभूषा, रहनसहन तथा परम्परागत खानाका परिकारका कारण अपिहिमाल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। पर्यटक पदमार्ग हुँदै सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो अपि हिमालको बेसक्याम्पसम्म पुग्ने गरेका छन्।
अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५६ जना महिला र ३७० जना पुरुष गरी कुल ४२६ जना आन्तरिक तथा बाह्य पर्यटकले अपि हिमाल तथा अपिनाम्पा संरक्षण क्षेत्रको भ्रमण गरेका छन्।
प्राकृतिक सौन्दर्यले भरिएको अपिहिमाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहोराले बताए। उनका अनुसार अपिहिमाल नेपाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमा समेत परेको छ।
सदरमुकाम खलङ्गाबाट करिब २३ कोष उत्तरपश्चिममा रहेको गाउँपालिकाको केन्द्र जोड्ने सडक हाल वडा नम्बर ३ को गौँड्याखोलासम्म पुगेको अध्यक्ष बोहोराले जानकारी दिए। चालु आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालय तथा पालिका केन्द्रलाई सडक सञ्जालले जोड्ने काम पूरा गर्ने लक्ष्य रहेको उनले बताए।
सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भोग्दै आएका छन्। वडा नम्बर ३ का वडाध्यक्ष गगनसिंह कार्कीका अनुसार सडक नहुँदा स्थानीयको दैनिक जीवनसँगै विकास निर्माणका कामसमेत प्रभावित हुँदै आएका छन्।
हाल गाउँपालिकाको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै गाडी गुड्न सक्ने सडक पुगेको छ। पर्यटकीय स्थल धेरै भएकाले पर्यटक आउने समयमा भने सडक अभावको समस्या केही हदसम्म बिर्सने अवस्था रहेको वडाध्यक्ष कार्कीले बताए।
यसअघि गत असार १ गते तत्कालीन सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा अपिहिमाल गाउँपालिकाको केन्द्र जोड्ने मकरीगाड–खण्डेश्वरी सडक निर्माणका लागि ३ करोड रुपैयाँ र मकरीगाड सडक पुल निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त बजेट पारित नभएपछि नयाँ बजेट निर्माणको तयारी भइरहेको छ। सडक सञ्जाल विस्तार हुन सके अपिहिमालको पर्यटनसँगै स्थानीय उत्पादन, रोजगारी र आर्थिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
