रसुवा बाढीपछि सम्पर्कविहीन दार्चुलाका चार जनाको अवस्था अझै अज्ञात, परिवारजन चिन्तित

दार्चुला । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दार्चुलाका चार जना सम्पर्कविहीन भएका छन् । भदौ १० गते बुधबार बिहान आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।

सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, सरकारी कर्मचारी तथा जलविद्युत आयोजनामा कार्यरत व्यक्ति रहेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–४ दह घर भई नेपाली सेनाको श्रीनाथ गणमा दरबन्दी रहेका तथा रसुवाको सुरक्षा बेस टिमुरेका इन्चार्ज सहायक सेनानी देवसिंह धामी बाढीपछि सम्पर्कविहीन भएका छन् । बाढी आएको समयदेखि नै उनीसँग सम्पर्क हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ ।

त्यस्तै, दार्चुलाको शैल्यशिखर नगरपालिका घर भई टिमुरे भन्सार कार्यालयमा कार्यरत नरेशदत्त जोशी, त्रिशूली जलविद्युत–१ आयोजनामा कार्यरत शैल्यशिखर नगरपालिका–८ का जयधन जोशी र दुहुँ गाउँपालिका–५ का नेपाली सेनामा कार्यरत विकास ठकुरी पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

बाढीपछि उनीहरू सम्पर्कविहीन भएको चार दिन बितिसक्दा पनि अवस्थाबारे जानकारी नआएपछि परिवारजन थप चिन्तित बनेका छन् । परिवारले उनीहरूको खोजी तथा अवस्थाबारे यथाशीघ्र जानकारी गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.