प्रहरी जवान कुँवर र बिष्टद्वारा बाढीपीडितका लागि एक महिनाको तलब सहयोग

दार्चुला। रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दार्चुलामा कार्यरत प्रहरी जवान अमितजंग कुँवर र काठमाडौंमा कार्यरत दार्चुलाका सुरेश बिष्टले आफ्नो एक महिनाको तलब सहयोग गरेका छन्।

बझाङ जिल्ला, तलकोट गाउँपालिका–१ सुनीकोट घर भई हाल दार्चुलामा कार्यरत प्रहरी जवान कुँवर र दार्चुला घर भई काठमाडौंमा कार्यरत बिष्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही ३० हजार रुपैयाँका दरले कुल ६० हजार रुपैयाँ सहयोग गरेका हुन्।

आफैं सीमित स्रोत–साधन र पारिवारिक जिम्मेवारीका बीच रहेर पनि विपद्मा परेका नागरिकको सहयोगका लागि आफ्नो कमाइबाट रकम छुट्याएको भन्दै उनीहरूको सहयोग भावनाको प्रशंसा गरिएको छ।

कर्तव्यका क्रममा दिनरात नागरिकको सुरक्षामा खटिने प्रहरी जवान कुँवरले विपद्मा परेका नागरिकका लागि आफ्नो एक महिनाको तलब सहयोग गर्नु सेवाभाव र मानवीय संवेदनाको उदाहरण भएको बताइएको छ। त्यस्तै, बिष्टले पनि संकटमा परेका नागरिकको घाउमा मलम लगाउने उद्देश्यले आफ्नो कमाइ सहयोग गरेका हुन्।

कुँवर र बिष्ट दुवैजना सांस्कृतिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनीहरूले सामाजिक तथा मानवीय सेवामा देखाएको सक्रियताले विपद्को समयमा सहयोग र एकताको सन्देश दिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.