

दार्चुला । मालिकार्जुन गाउँपालिका–५ को वडा कार्यालयले तीज विशेष कार्यक्रम र नारी दिवसका लागि विनियोजन गरिएको २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता मदनबहादुर चन्दका अनुसार गाउँपालिकाबाट तीज कार्यक्रमका लागि १० हजार रुपैयाँ र नारी दिवसका लागि १० हजार रुपैयाँ गरी वडालाई विनियोजन गरिएको २० हजार रुपैयाँ कार्यक्रम सञ्चालनमा खर्च नगरी विपद् प्रभावितको सहयोगका लागि उद्धार कोषमा जम्मा गरिने भएको हो।
देश विपत्तिमा रहेको अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भएकाले कार्यक्रमका लागि छुट्याइएको बजेट कटौती गरी वडावासीको तर्फबाट विपद् प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता चन्दले बताए ।
उनले विपद्को समयमा सानो भए पनि सहयोग महत्वपूर्ण हुने भन्दै अन्य स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था तथा आम नागरिकलाई समेत सक्दो सहयोग गर्न आग्रह गर्नुभएको छ।
