दार्चुला । नेपाली कांग्रेस दुहुँ गाउँपालिका कार्यसमितिले भोटेकोसी बाढीपहिरो पीडितका लागि पार्टीका सदस्यहरूबाट स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरेको छ।
गाउँपालिका कार्यसमिति सभापति नरेन्द्रसिंह कुँवरको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग संकलन गर्ने निर्णय गरेको हो।
सहयोग संकलनको जिम्मेवारी वडा कार्यसमितिलाई दिने र वडा तहबाट संकलित रकम नेपाली कांग्रेस केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरिएको सभापति कुँवरले जानकारी दिए।
बैठकले पार्टीका वडा तथा पालिका अधिवेशनको पूर्वतयारी गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा नेपाली कांग्रेस दार्चुलाका जिल्ला सचिव पुलेन्द्रबहादुर कार्की, प्रदेशसभा क्षेत्र ‘क’ का उपसभापति गोपालसिंह कार्कीलगायत जिल्ला कार्यसमिति सदस्य, पालिका उपाध्यक्ष तथा वडा अध्यक्षहरूको उपस्थिति थियो।
