विपद् उद्धारमा सुदूरपश्चिमका पाँच चेम्बरको रु १,०१,००१ सहयोग

धनगढी।
सुदूरपश्चिम प्रदेशमा क्रियाशील पाँच चेम्बर संस्थाहरूले दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,०१,००१ (एक लाख एक हजार एक रुपैयाँ) आर्थिक सहयोग गरेका छन्।

सुदूरपश्चिम चेम्बर अफ कमर्स, कञ्चनपुर चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्स र धनगढी चेम्बर अफ कमर्सको संयुक्त पहलमा उक्त सहयोग प्रदान गरिएको हो। विपद्को कठिन घडीमा निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व वहन गर्दै सरकार र नागरिकसँग हातेमालो गर्नुपर्ने भावनाअनुसार सहयोग गरिएको चेम्बरले जनाएको छ ।

चेम्बर अफ कमर्स व्यवसायीको हकहितमा मात्र केन्द्रित संस्था नभई किसान, उद्यमी, उत्पादक तथा स्थानीय अर्थतन्त्रका विविध समस्यालाई उजागर गर्दै समाधानका लागि निरन्तर पहल गर्दै आएको संस्था हो। विशेषगरी किसानले भोग्दै आएका कृषि उपजको ढुवानी, आवतजावत, भण्डारण, उचित बजारको अभाव, लागतअनुसार मूल्य नपाउने समस्या तथा उत्पादन बजारसम्म पुर्‍याउन हुने कठिनाइलाई चेम्बरले निरन्तर सम्बन्धित निकायसमक्ष उठाउँदै आएको छ।

त्यस्तै, सुदूरपश्चिममा उत्पादन हुने अर्ग्यानिक कृषि उपज, स्थानीय खाद्यवस्तु, जडीबुटी, फलफूल, तरकारी, मौलिक तथा परम्परागत उत्पादनको बजारीकरण र प्रवर्द्धनमा समेत चेम्बरले जोड दिँदै आएको छ।

चेम्बरले “सुदूरपश्चिममा उत्पादन गरौँ, सुदूरपश्चिममै प्रयोग गरौँ, सुदूरपश्चिममै लगाऔँ, सुदूरपश्चिममै खाऔँ र समृद्ध सुदूरपश्चिम निर्माण गरौँ” भन्ने भावनालाई अभियानका रूपमा अघि बढाउँदै आएको छ। स्थानीय उत्पादनको प्रयोग र उपभोग बढाउन सके किसानको आय, स्थानीय व्यवसाय, रोजगारी र प्रदेशभित्रको आर्थिक गतिविधि बढ्ने चेम्बरको विश्वास छ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सक्रिय रूपमा खटिरहनुभएको नेपाल सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय तह, सामाजिक अभियन्ता, स्वयंसेवक, विभिन्न संघसंस्था तथा आ–आफ्नो स्थानबाट सहयोग गरिरहनुभएका स्थानीय नागरिकहरूप्रति पाँचै चेम्बरले धन्यवाद तथा सम्मान व्यक्त गरेका छन्।

चेम्बरले विपद्को समयमा सबैको सानो सहयोगले ठूलो राहतको रूप लिन सक्ने भन्दै उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था र आम नागरिकलाई आफ्नो क्षमता र क्षेत्रअनुसार सक्दो सहयोग गर्न अपीलसमेत गरेको छ।

“सानो–सानो सहयोग जोडिँदा ठूलो मानवीय अभियान बन्न सक्छ। यस्तो कठिन घडीमा हामी सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु नै हाम्रो साझा दायित्व हो,” चेम्बरको सन्देशमा उल्लेख गरिएको छ।

पाँचै चेम्बरले आगामी दिनमा पनि किसान, व्यवसायी, स्थानीय उत्पादन, उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा समृद्ध सुदूरपश्चिम निर्माणका विषयमा संयुक्त रूपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.