दार्चुलामा महिलामाथि कुटपिट गर्ने गीता पक्राउ, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान हुँदै
दार्चुला । महाकाली नगरपालिका–४ बङ्गाबगडकी ३४ वर्षीया कविता बोहरालाई निर्घात कुटपिट गरी फरार रहेकी दुहुँ गाउँपालिका–४ पोक्सेकी गीता कुँवर (धाना ) पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार कुँवरलाई काठमाडौं बसपार्कबाट पक्राउ गरी दार्चुला ल्याइएको हो।
भदौ १० गते दार्चुला ल्याइएकी उनलाई पीडितले दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी कुँवरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत साउन २९ गते राति कुँवर बङ्गाबगडस्थित कविताको घरमा बास बस्न पुगेकी थिइन्। कविता निदाएपछि टिमुरको काँडा भएको लाठीले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप छ।
कुटपिटबाट गम्भीर घाइते भएकी कविताको टाउकोमा १४ वटा टाँका लगाइएको प्रहरी निरीक्षक भट्टले बताए। घरमा अन्य मानिस नभएको अवस्थामा कुटपिट भएको बताइएको छ। पीडित कविता र आरोपित गीता बाल्यकालदेखि नै साथी रहेको तथा गीताको बाल्यकालसमेत कविताकै घरमा बितेको बताइएको छ।
पीडित पक्षले कुटपिटपछि गीताले घरबाट तिलहरी, माङटिका र औँठीलगायत सुनका गहना समेत लगेको आरोप लगाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
