काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले बगाएका ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९८७ जनाको मृत्यु र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।
प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, तनहुँमा ३८ र चितवनमा ३२१ जना छन्। कतिपयको आंशिक मानव अंग मात्र रहेको छ।
सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनाबाट ६३९ जना, रसुवाबाट ८६५ जना, नुवाकोटबाट १५५८ जना, सम्पर्कविहीन विदेशी नागरिक ५८३ जना, प्रहरी २५ जना, सेना ४५ जना, सशस्त्र प्रहरी १३ जना, भन्सार कार्यालय १५ जना, अध्यागमन कार्यालय ३ जना, विदेशी पर्यटकसँग घुम्न गएका नेपाली १६४ जना, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेको प्राधिकरणले जनाएको छ।
आज मात्र २२ जनाको शव रसुवाबाट काठमाडौं पोस्टमार्टमका लागि ल्याइएको छ।
खोज तथा उद्धारका लागि २१ हजार ११ सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हालसम्म २५३ जना विदेशी नागरिकको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
