दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले निरन्तर वर्षासँगै सडकमा पहिरो खस्ने क्रम बढेपछि सदरमुकाम खलंगाबाट हुने सवारी आवागमनमा रोक लगाएको छ।
कार्यालयले दिउँसो १:१५ बजेदेखि सदरमुकाम खलंगाबाट अन्यत्र जाने तथा अन्य स्थानबाट खलंगा प्रवेश गर्ने सवारीसाधनलाई रोक लगाउने निर्णय गरेको हो।
वर्षाका कारण जिल्लाका विभिन्न सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएकाले जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यसैगरी, सदरमुकामबाट प्रस्थान गरिसकेका वा विभिन्न स्थानबाट सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधनको बाटोको अवस्था तथा जोखिमको स्तर विश्लेषण गरी सुरक्षा निकायले आवश्यक व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको छ।
अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने भएमा नजिकको प्रहरी वा स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।

