दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित केदारनाथ बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । सरकारले गरेको सहयोगको आह्वानलाई आत्मसात् गर्दै विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले बताए ।
उनका अनुसार सहकारीका सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको हो ।
संस्थाले प्राकृतिक विपद्का कारण दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
गत भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवालगायत प्रभावित क्षेत्रमा भएको अकल्पनीय भौतिक तथा मानवीय क्षतिप्रति संस्थाले गहिरो दु:ख व्यक्त गरेको छ ।
