दार्चुला । दार्चुला जिल्ला कारागारमा रहेका कैदीबन्दीले रसुवाको भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कारागारमा रहेका ४५ जना कैदीबन्दीले स्वेच्छिक रूपमा २० हजार ७८५ रुपैयाँ सहयोग गरेका हुन्।
कैदीबन्दीले संकलन गरेको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए।
बुधबार कैदीबन्दीका तर्फबाट उक्त रकम प्रमुख जिल्ला अधिकारी पौडेललाई हस्तान्तरण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी पौडेलले कैदीबन्दीले गरेको सहयोगलाई असल अभ्यासका रूपमा लिनुपर्ने बताए। उनले अन्य जिल्लाका कैदीबन्दी तथा कारागार प्रशासनका लागि समेत यो प्रेरणाको विषय बन्न सक्ने बताए।
“राहत रकम सानो–ठूलो भन्ने हुँदैन। सानो–सानो रकम जम्मा भएर ठूलो रकम बन्ने हो,” पौडेलले भने, “कैदीबन्दीहरूले गरेको यो सत्कर्मका लागि धेरै–धेरै धन्यवाद दिन चाहन्छु।”
