दार्चुला । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा दार्चुलामा आज विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ। दिवसको अवसरमा बिहान प्रभातफेरी गरिएको छ भने साँझ दीप प्रज्ज्वलन गरिने जनाइएको छ।
२०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको नेपालको संविधान जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस समिति दार्चुलाको आयोजनामा बिहान प्रभातफेरी गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभातफेरी अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा वक्ताहरूले देशका वीर सहिद, घाइते तथा अपांगता भएका व्यक्तिहरूको बलिदान र योगदानबाट नेपालको संविधान, २०७२ प्राप्त भएको बताए। उनीहरूले संविधानमा उल्लेखित व्यवस्थाहरूको अक्षरशः पालना गर्दै देश र जनताको समृद्धिका लागि सबै पक्ष एकजुट भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए।
प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू, प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री विष्ट, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न विद्यार्थी राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

