काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- बाढी तथा पहिरोका कारण प्रभावित भएका विभिन्न जिल्लामा विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाएको छ ।
प्राधिकरणका अनुसार प्युठानमा अर्घाखाँचीबाट आपूर्ति हुने ३३ केभी प्रसारण लाइन साँझ ७ बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ। उक्त लाइन सञ्चालनमा आएपछि प्युठान सदरमुकामसहित जिल्लाका धेरै स्थानमा विद्युत् सेवा पुनः सञ्चालन हुनेछ । लमही–झिम्रुक १३२ केभी लाइनअन्तर्गत दाङको मुर्कुटीमा चुडिएको तार जोड्ने काम भइरहेको छ। उक्त क्षेत्रमा वर्षा भइरहेकाले काम गर्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सो लाइन आज राति १० बजेसम्म सञ्चालनमा आउने सम्भावना रहेको छ ।
१३२ केभी लाइन सञ्चालनमा आएपछि प्युठानमा पूर्णरूपमा विद्युत् सेवा सञ्चालन हुनेछ भने रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी क्षेत्रमा समेत विद्युत् आपूर्ति सुरु हुनेछ । रोल्पाको पश्चिमी क्षेत्रमा पर्ने होलेरीमा विद्युत् सेवा पुनःस्थापनाका लागि बिहानैदेखि टोली परिचालन गरिएको छ। एक स्थानमा पाँच स्प्यान तार पोलसहित ढलेको तथा अन्य चार स्थानमा रुखले पोलसहित तार चुडाएको पाइएको प्राधिकरणले जनाएको छ । ती स्थानमा मर्मतको काम भइरहेको र भोलिसम्ममा विद्युत् सेवा सञ्चालन गर्ने तयारी छ ।
रोल्पाको थवाङतर्फ जाने विद्युत् लाइनमा भने ठूलो क्षति पुगेको छ। सडक अवरुद्ध रहेकाले प्राविधिक तथा कर्मचारी घटनास्थलमा पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ । यस्तै, रुकुम पूर्वमा सल्यान हुँदै गएको विद्युत् लाइन सल्यान वितरण केन्द्रअन्तर्गतको क्षेत्रमा अवरुद्ध भएको छ । पहिरोसँगै पोलहरू बगेको बुझिएको र उक्त क्षेत्रमा भोलिसम्ममा विद्युत् सेवा पुनःस्थापना गर्ने तयारी भइरहेको छ । हाल रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती जलविद्युत् आयोजनाबाट विद्युत् आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
२- फेवातालमा हुन सक्ने जल दुर्घटनामा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले अत्याधुनिक ‘जेट स्की बोट’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरीले असोज ११ गतेदेखि उक्त बोट सञ्चालनमा ल्याएको हो । फेवातालमा हुने पानीजन्य घटनामा तत्काल खोज तथा उद्धार गर्न सहयोग पुग्ने उद्देश्यले जेट स्की बोट सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । तीन सिट क्षमताको जेट स्की बोटले प्रतिघण्टा करिब १ सय ५ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता रहेको छ ।
त्यस्तै, यो बोट लगातार ६ देखि ७ घण्टासम्म सञ्चालन गर्न सकिने जनाइएको छ । फेवातालमा पर्यटकीय गतिविधि तथा जल यात्राका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले २०६९ सालदेखि ‘फेवा वाच एन्ड रेस्क्यू टावर’ स्थापना गरी निरन्तर खोज तथा उद्धार सेवा प्रदान गर्दै आएको छ । उक्त टावरमार्फत परिचालित सशस्त्र प्रहरीका उद्धार टोलीले हालसम्म फेवातालबाट १ हजार ५८८ जनाको जीवितै उद्धार गरिसकेका छन् । त्यस्तै, ५३ जनाको शवसमेत फेवातालबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । उच्च गतिको जेट स्की बोटको प्रयोगबाट फेवातालमा हुने आपत्कालीन उद्धार कार्यलाई अझ छिटो, छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास सशस्त्र प्रहरीले लिएको छ ।
३- जेनजी अभियन्ता रक्षा बमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको घटनालाई लिएर प्रश्न उठाएकी छन् । बमले सामाजिक सञ्जालमार्फत जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको विषयमा आपत्ति जनाउँदै ‘जेनजी भनेको को हो ? कुनै आतंकवादी संगठन हो वा भूमिगत सशस्त्र समूह हो ?’ भन्दै प्रश्न गरेकी छन् । उनले कानुनी प्रक्रिया र आधारबारे प्रश्न उठाउँदै शक्तिको आडमा आफूखुसी पक्राउ गर्ने र आरोप लगाउने काम स्वीकार्य नहुने बताएकी छन् । उनले ‘जेनजी’ शब्दलाई सरकारको अक्षमता ढाकछोप गर्न प्रयोग गरिएको हो कि भन्दै प्रश्नसमेत गरेकी छन् । बमले यदि जेनजीबाट संगठित सुरक्षा खतरा रहेको हो भने त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
उनले जबरालाई राजनीतिक दाउपेचका कारण मध्यरातमा पक्राउ गरिएको दाबीसमेत गरेकी छन् । यसअघि प्रहरीले जबरालाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राख्न कार्यालयमा ल्याइएको बताएको थियो । प्रहरीले जबरालाई महाराजगञ्जस्थित निवासबाट बिहान करिब ३ बजे कार्यालयमा ल्याएको थियो र त्यस क्रममा पक्राउ पुर्जी दिएको थिएन । त्यसपछि उनलाई आजै अपराहन्न परिवारको जिम्मा लगाइएको बताइएको छ । बमले आफ्नो वक्तव्यमा ‘सुरक्षा निकायको कतिसम्म दुरुपयोग गरिरहेको सरकारले?’ भन्दै सरकारको कार्यशैलीप्रति समेत प्रश्न उठाएकी छन् ।
४- दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरमा भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । जोहानेसबर्गनजिकै शनिबार साँझ एक मदिरालयमा आठ जना बन्दुकधारीले गोली चलाउँदा १७ जनाको मृत्यु र १५ जना घाइते भएका छन् । त्यस्तै, केप टाउननजिकै आइतबार बिहान मनोरञ्जनस्थलबाहिर भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दुवै घटनामा गोली चलाउनुको कारण खुलेको छैन र आइतबार बिहानसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । दक्षिण अफ्रिकामा गैरकानुनी हतियार तथा समूहगत हिंसाका कारण गोलीकाण्ड र हत्याका घटना लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।
५- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाउँदै आफ्नो संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आग्रह गरेको छ । चोलेन्द्रशमशेरको अवस्थाबारे अनुगमन गर्न आयोगका सदस्यको नेतृत्वमा उच्चस्तरीय टोली आइतबार टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले आयोगको टोलीलाई उनीसँग भेटेर जानकारी लिन अनुमति नदिएको आयोगले जनाएको छ । आयोगका अनुसार प्रहरीको उच्च नेतृत्वसँग अनुगमन गर्न नदिइनुको कारणबारे जानकारी माग्दा समेत टोलीलाई स्पष्ट जवाफ दिइएन । राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४ (क) मा आवश्यकता अनुसार सार्वजनिक तथा निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने र मानव अधिकार संरक्षणका लागि सुधार आवश्यक देखिए सम्बन्धित निकायलाई सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
उक्त संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमनमा गएको आयोगको टोलीलाई रोकिएको घटनाप्रति आयोगले खेद व्यक्त गरेको छ । आयोगले घटनाको निष्पक्ष छानबिन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन तथा आयोगलाई प्राप्त अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । गएराती प्रहरीले नियन्त्रणमा लिएका जबरालाई भने आजै अपराहन्न परिवारको जिम्मा लगाएको बताइएको छ ।
६- कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरणले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार आज असोज ११ गते दिउँसो २ बजे गरिएको मापनअनुसार जलाशयको जलसतह १ हजार ५२६.४९ मिटर पुगेको छ । हालको पानीको बहाव र जलसतह बढ्ने दरलाई हेर्दा आज साँझ करिब ६ देखि ७ बजेसम्ममा जलसतह १ हजार ५२७ मिटर, अर्थात् पहिलो चेतावनी तहमा पुग्न सक्ने अनुमान गरिएको छ । मौसममा क्रमिक सुधार हुँदै गएको र थप ठूलो वर्षाको सम्भावना न्यून रहे पनि जलाधार क्षेत्रमा आज राति वा भोलिसम्म अप्रत्याशित रूपमा भारी वर्षा भएमा जलाशयको सुरक्षा तथा जलसतह सन्तुलन कायम गर्न बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणले जनाएको छ । मुख्य ढोका खोल्नुपर्ने अवस्था आएमा बाँधको तल्लो तटीय क्षेत्र, विशेषगरी सिस्नेरी खोला तथा बागमती नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई नदी तथा खोला किनारमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राविधिक टोली तथा नियन्त्रण कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ । बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा पूर्वनिर्धारित चेतावनी प्रणालीअनुसार दोस्रो तथा तेस्रो चरणका साइरन बजाउनुका साथै सम्बन्धित क्षेत्रका बासिन्दा तथा सरोकारवालालाई छोटो सन्देशमार्फत सूचना दिइने प्राधिकरणले जनाएको छ । प्राधिकरणले आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र चेतावनी पालना गर्न सबैमा आग्रह गरेको छ ।
७- पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्ड खुलाउन १० वटा मेसिन परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ । नागढुंगा–मुग्लिन सडक योजनाका अनुसार भोलि बिहानसम्म यातायात सञ्चालन गर्ने तयारी गरिएको छ । असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण मलेखु–मुग्लिन सडकखण्डमा १० स्थानमा पहिरो गएको थियो । पहिरोका कारण केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि केही स्थानमा भने दुवैतर्फको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । शीलतबजारमा चट्टानको पछिल्लो भागबाट लेदो र रुखसहित पहिरो खस्नुका साथै सडकको छेउ केही भासिएको छ। गोमती खोलामा पनि लेदोसहित पहिरो खसेको छ। दुवै स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। कृष्णभीरमा लेदोसहित पहिरो खसेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो भने ज्यामिरेघाट–चौकीभीरमा ढुंगा र लेदोसहितको पहिरोका कारण आवागमन रोकिएको थियो। हुग्दी खोलादेखि जवाङ खोलासम्मको करिब तीन किलोमिटर क्षेत्रमा आधा दर्जनभन्दा बढी स्थानमा ढुंगासहित पहिरो खसेको थियो । फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडकमा ठूला ढुंगा, लेदो र रुखसहित पहिरो खसेको थियो। सोही क्षेत्रमा सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको छ । चुम्लिङटारमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ भने भरिएको कल्भर्ट खुलाउने काम भइरहेको छ। घोप्टेभीर र सिमलधारामा ठूला ढुंगा, लेदो तथा माटोसहित पहिरो खसेर दुवैतर्फको आवागमन अवरुद्ध भएको थियो । सडक योजनाले अवरुद्ध सडक खुलाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको जनाएको छ। सकेसम्म भोलि बिहानसम्म सडकमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको योजनाको भनाइ छ । हाल सडकखण्डमा पहिरो हटाउने काम भइरहेकाले यात्रुलाई अवस्था सामान्य नभएसम्म उक्त सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ ।
८- प्रहरी नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई परिवारको जिम्मा लगाइएको छ । प्रहरी स्रोतका अनुसार जबरालाई परिवारको जिम्मा लगाइएको हो । यसअघि जबरालाई प्रहरी नियन्त्रणमा लिइएको विषय सार्बजनिक भएपछि उनलाई भेट्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई प्रहरीले फिर्ता पठाइदिएको थियो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराती काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको थियो । जबरालाई नियन्त्रणमा लिनुको कारण बारे भने स्पष्ट जानकारी गराइएको छैन । उनीविरुद्ध परेका उजुरीहरुको आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा पक्राउ गरिएको दाबी गरिएको छ ।
९- पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोले आधार शिविरमा रहेका पालहरू पुरिएका छन् । अभियान आयोजकका अनुसार हिमपहिरोले आधार शिविरका पालहरू बगाएपछि हिमालयन होलिडेज नेपालका कम्तीमा ८ जना आरोही तथा सहयोगी कर्मचारी र इम्याजिन नेपाल ट्रेक्सका २ जना भान्सा कर्मचारी सम्पर्कविहीन भएका छन् । अभियान आयोजकहरूले उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको जनाएका छन् । एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका अनुसार हिम्लुङ क्षेत्रमा सञ्चालनमा रहेका अन्य कम्पनीका अधिकांश सदस्य तथा कर्मचारी भने मौसमसम्बन्धी चेतावनीपछि यसअघि नै सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिसकेका थिए ।
१०- नेपाली कांग्रेसका सभापति गगन थापाले देशभर लगातार भइरहेको वर्षाका कारण अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । थापाले लगातारको वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको उल्लेख गर्दै अहिलेको अवस्थामा नागरिकको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । उनले मौसम विभाग तथा सम्बन्धित निकायले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। साथै, आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रूपमा जुट्नुहुन सम्पूर्ण साथीहरूलाई आग्रह गर्दछु ।’ थापाले आफ्नो–आफ्नो क्षेत्रको अवस्था बुझ्न र अप्ठ्यारोमा परेका नागरिकलाई आवश्यक सहयोग तथा समन्वय गर्न सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई आग्रह गरेका छन् ।
११- भारतको नयाँदिल्लीमा सन्तान नहुँदा स्वास्थ्य परीक्षण गराउन गएका २६ वर्षीय पुरुषको शरीरमा पाठेघर र डिम्बवाहिनी नली भेटिएको छ । विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि चिकित्सकको सम्पर्कमा पुगेका ती पुरुषको परीक्षणका क्रममा यस्तो दुर्लभ अवस्था पत्ता लागेको हो । भारतीय मिडियाहरुका अनुसार बाहिरी शारीरिक बनावट र पुरुषमा हुने अन्य विशेषता सामान्य रहे पनि उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली रहेको पाइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार ती पुरुषमा जन्मजात हुने अत्यन्त दुर्लभ अवस्था देखिएको हो । चिकित्सकीय भाषामा यसलाई ‘पर्सिस्टेन्ट मुलरियन डक्ट सिन्ड्रोम’ भनिन्छ । विश्वभर अहिलेसम्म यसका ३०० भन्दा कम घटना अभिलेख भएका छन् । परीक्षणका क्रममा ती पुरुषका दुवै अण्डकोष सामान्य स्थानमा नरहेको र वीर्यमा शुक्रकीटसमेत नभएको पाइएको थियो । थप परीक्षण गर्दा उनको शरीरभित्र पाठेघर र डिम्बवाहिनी नली भेटिएका थिए । यद्यपि, डिम्बाशय भने थिएनन् । चिकित्सकका अनुसार शल्यक्रियामार्फत पाठेघर, डिम्बवाहिनी नली र अण्डकोष हटाइएको छ । परीक्षणका क्रममा एउटा अण्डकोषमा क्यान्सर हुनुअघिको अवस्थासमेत देखिएको थियो । शल्यक्रियाको सात दिनपछि ती पुरुष काममा फर्किएका छन् । अण्डकोष हटाइएकाले अब उनले प्रत्येक तीन महिनामा टेस्टोस्टेरोनको सुई लगाउनुपर्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार शरीरमा पाठेघर भए पनि ती पुरुष गर्भधारण गर्न सक्षम थिएनन् ।
१२- प्रतिकूल मौसमका कारण नेपालका प्रमुख पदयात्रा गन्तव्य तथा मार्गमा अस्थायी रूपमा रोक लगाइएको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले जारी गरेको सुरक्षा सूचनामार्फत पदयात्री तथा सहयोगी टोलीका सदस्यको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । एसोसियसनका अनुसार मनसुन लगातारको वर्षा, हिमपात, पहिरो र सडक सञ्जालमा आएको अवरोधका कारण केही क्षेत्रमा पदयात्रा तथा आवागमनमा प्रतिबन्ध लगाइएको र अझै पूर्ण रूपमा अन्त्य नभएकाले सबै पदयात्रा क्षेत्रमा सावधानीपूर्वक योजना बनाएर यात्रा गर्न आग्ररह गरेको छ । सगरमाथा क्षेत्रमा तल्लो उचाइका स्थानमा वर्षा भइरहेको छ भने डिङबोचेभन्दा माथिल्लो क्षेत्रमा भारी हिमपात भइरहेको र यस क्षेत्रमा रहेका पदयात्रीलाई थप उच्च उचाइतर्फ नजान आग्रह गरिएको छ। उच्च क्षेत्रमा पुगिसकेका पदयात्रीलाई समेत सुरक्षित आवास वा सुरक्षित आश्रयस्थलमा बस्न र स्थानीय प्रशासन तथा पदयात्रा मार्गदर्शकको निर्देशन पालना गर्न भनिएको छ । मनास्लु क्षेत्रमा स्थानीय प्रशासन तथा मनास्लु संरक्षण क्षेत्र आयोजनाले आजका लागि पदयात्रामा रोक लगाएका छन् । पदयात्रा प्रवेश अनुमति दिउँसोपछि मात्र जारी हुने अपेक्षा गरिएको छ। त्यसैले आज नभई भोलिबाट पदयात्राको आधिकारिक सुरुवात हुने एसोसियसनले जनाएको छ । आज तोकिएका जाँच चौकीमा प्रवेश अनुमति जाँच नहुने जनाइएको छ । मनास्लु क्षेत्रमा जगतदेखि सिरदिबाससम्मको तल्लो मार्गमा पहिरोको जोखिम रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्दै वर्षाका कारण दोभान क्षेत्रमा ढुंगा खस्ने जोखिम रहेकाले विशेष सतर्कता आवश्यक रहेको जनाइएको छ । त्यस्तै, पदयात्रीले जीपमार्फत माछाखोला वा जगतसम्म यात्रा गर्न सक्ने भए पनि बाटोको अवस्थाबारे सावधानी अपनाउनुपर्नेछ । लार्के पाससहित उच्च हिमाली भेगमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म उच्च पासतर्फ नजान आग्रह गरिएको छ। बाटो खुलेपछि थप सूचना जारी गरिने एसोसियसनले जनाएको छ । अन्नपूर्ण क्षेत्रमा पनि स्थानीय प्रशासन तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आज पदयात्रामा रोक लगाएका छन् । प्रवेश अनुमति दिउँसोपछि जारी हुने अपेक्षा गरिएकोले पदयात्राको आधिकारिक सुरुवात भोलिबाट हुने जनाइएको छ । अन्नपूर्ण क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिम रहेकाले पदयात्रीलाई सावधानी अपनाउन आग्रह गरिएको छ । थोराङला र तिलिचो ताल जस्ता उच्च क्षेत्रमा निरन्तर हिमपात र वर्षा भइरहेकाले कम्तीमा भोलिसम्म त्यस्ता क्षेत्रमा नजान भनिएको छ । लगातारको वर्षाका कारण धेरै स्थानमा सडक सञ्जालसमेत प्रभावित भएको छ । विशेषगरी बेँसीसहर–मनाङ सडकखण्डमा समस्या देखिएको भन्दै पदयात्रीलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा तल्लो मार्गमा पहिरोको सम्भावनाप्रति सचेत रहन आग्रह गरिएको छ । त्यस्तै, धौलागिरि, डोल्पा र हुम्ला क्षेत्रमा रहेका प्रमुख पदयात्रा गन्तव्यमा ठूलो अवरोधको सूचना प्राप्त नभए पनि भारी वर्षाका कारण पहुँच मार्गका धेरै सडक प्रभावित भएका छन् । एसोसियसनले यी क्षेत्रमा तल्लो मार्गमा पहिरोको जोखिमप्रति सचेत रहन र कम्तीमा भोलिसम्म उच्च हिमाली पासतर्फ नजान आग्रह गरेको छ । मौसम तथा बाटोको अवस्था हेरेर थप सूचना जारी गरिने जनाइएको छ ।
१३- शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा क्षेत्र योजना (एसईएसपी) को बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा प्रक्रिया अघि बढाएको छ । एसईएसपीको पहिलो पाँच वर्षको ‘कस्टेड प्रोग्राम’को चालु आर्थिक वर्ष कार्यान्वयनको अन्तिम वर्ष रहेकाले बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा गर्न लागिएको हो । यसैक्रममा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा शिक्षा क्षेत्रका विज्ञ, योजनाविद् तथा मन्त्रालय र मातहतका निकायका उच्च अधिकारीबीच छलफल भएको छ । बाँकी पाँच वर्षको कार्यक्रम तर्जुमाका लागि पहिलो चरणमा ‘स्ट्राटेजिक सेक्टर एनालाइसिस’ गरिने र त्यसपछि कार्यक्रम डिजाइन गर्ने तयारी छ । सोहीअनुसार पहिलो चरणको कामका लागि शिक्षा क्षेत्रका विज्ञ तथा मन्त्रालय र मातहतका निकायका प्रतिनिधिबीच संयुक्त छलफल सुरु गरिएको मन्त्रालयले जनाएको छ । यसअघि विकास साझेदारका तर्फबाट फोकल तथा कोफोकल प्रतिनिधिसँग मन्त्रालयले गत बुधबार छलफल गरेको थियो । छलफलमा डा. मीनबहादुर विष्ट, डा. कमल पोखरेल, डा. लवदेव अवस्थीलगायत विज्ञ सहभागी थिए । बैठकमा आगामी पाँच वर्षका शिक्षा क्षेत्रका कार्यक्रम, प्राथमिकता र कार्यान्वयन प्रक्रियाबारे छलफल भएको थियो । मन्त्रालयले आगामी पाँचवर्षे योजना निर्माणका लागि एक महिनाभित्र सम्पन्न गर्नुपर्ने कामको कार्ययोजना तयार गर्न विज्ञहरूलाई कार्यादेश दिएको छ । शिक्षा सचिव पौडेलले आगामी पाँच वर्षको योजनासँगै त्यसपछिको अवस्थालाई समेत दृष्टिगत गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । योजनाको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहको भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गरेर योजना कार्यान्वयन गर्नुपर्नेमा छलफलमा जोड दिइएको थियो । मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार नयाँ योजनाले विद्यालय शिक्षामा सरकारका प्राथमिकताअनुसार नयाँ कार्यक्रम तय गर्नेछ भने प्रभावकारी रूपमा सञ्चालन भइरहेका चालु कार्यक्रमलाई आवश्यकताअनुसार निरन्तरता दिनेछ ।
१४- पूर्वभारतीय क्रिकेटर विनोद काम्बलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा ५४ वर्षीय काम्बली वृद्धाश्रममा देखिएका छन् । यही भिडियोका आधारमा उनी ठाणेस्थित एक वृद्धाश्रममा बसिरहेको दाबी गरिएको छ । तर, यो दाबीको स्वतन्त्र पुष्टि भने हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भाइरल भिडियोमा काम्बलीले वृद्धाश्रमको सुविधा र सरसफाइको प्रशंसा गरेका छन् । त्यहाँको वातावरणबारे सकारात्मक धारणा राख्दै उनले आफूलाई उक्त केन्द्रमा घरमै बसेजस्तो महसुस भइरहेको बताएका छन् । भिडियोमा काम्बलीको बोल्ने शैलीलाई लिएर सामाजिक सञ्जालका केही प्रयोगकर्ताले उनको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । यद्यपि, भिडियोका आधारमा उनको स्वास्थ्य अवस्थाबारे कुनै निष्कर्ष निकाल्न सकिने अवस्था छैन । यसअघि स्वास्थ्यमा समस्या देखिएपछि काम्बलीलाई ठाणेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पिसाबमा संक्रमण र मांसपेशीमा ऐंठनको समस्या देखिएको थियो । परीक्षणका क्रममा उनको मस्तिष्कमा रक्तकोष जमेको समेत पत्ता लागेको थियो। करिब दुई साता उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । काम्बलीले सन् १९९३ देखि २००० सम्म भारतका लागि १७ टेस्ट र १०४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनी टेस्ट क्रिकेटमा एक हजार रन पूरा गर्ने सबैभन्दा छिटो भारतीय ब्याट्सम्यानका रूपमा परिचित छन् । काम्बलीले १७ टेस्टमा ५४.२० को औसतमा १ हजार ८४ रन बनाएका थिए । उनले टेस्टमा चार शतक र तीन अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, १०४ एकदिवसीय खेलमा उनले ३२.५९ को औसतमा २ हजार ४७७ रन बनाएका थिए । एकदिवसीय क्रिकेटमा उनको नाममा दुई शतक र १४ अर्धशतक छन् । प्रथम श्रेणी क्रिकेटमा काम्बलीले १२९ खेलबाट ५९.६७ को औसतमा ९ हजार ९६५ रन बनाएका थिए । यस क्रममा उनले ३५ शतक र ४४ अर्धशतक प्रहार गरेका थिए । त्यस्तै, २२१ सूची ‘ए’ खेलमा उनले ४१.२४ को औसतमा ६ हजार ४७६ रन बनाएका थिए । यसमा ११ शतक र ३५ अर्धशतक समावेश छन् ।
१५- पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन् । आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेपछि त्यहाँ रहेका करिब ८० घरमध्ये २५ घर बगेका हुन्। अन्य घरसमेत जोखिममा रहेको जनाइएको छ । घटनामा मानवीय क्षति भने भएको छैन। बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ ।
१६- मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा त्रिशूली नदीको बाढीका कारण सडकको करिब आधा भाग भासिएपछि एकतर्फी भएको छ । सडकको आधा भाग भासिएपछि उक्त स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयले सवारीसाधनलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ ।
१७- गुल्मी र स्याङ्जा जोड्ने मिर्मि–रेप्का क्षेत्रमा रहेको ड्याम साइडको पुल बाढीले बगाएको छ । प्राप्त जानकारीअनुसार आज बिहान करिब ३ बजेतिर ड्यामको ढोका खुलेलगत्तै आएको बाढीले हर्मिचौर र मिर्मि जोड्ने पुल बगाएको हो । पुल बाढीले बगाएपछि गुल्मी र स्याङ्जाबीचको उक्त सडक सम्पर्क प्रभावित भएको छ । स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ ।
१८- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कस्थित संयुक्त अरब इमिरेट्सको स्थायी नियोगमा भएको भेटवार्तामा नेपाल–यूएई सम्बन्धका विविध पक्षबारे छलफल भएको हो । भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा जलवायुजन्य बाढीबाट प्रभावित समुदायका लागि संयुक्त अरब इमिरेट्स सरकार र जनताले व्यक्त गरेको सहानुभूति, ऐक्यबद्धता तथा मानवीय सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए । यूएईले बाढी प्रभावित समुदायका लागि थप २ करोड ५० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा पनि मन्त्री खनालले धन्यवाद दिएका थिए । भेटवार्तामा दुवै पक्षले आपसी हितका विषयमा रचनात्मक छलफल गरेका थिए । नेपाल र यूएईबीचको घनिष्ठ तथा सहकार्यपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच सहमति भएको थियो । दुवै पक्षले श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, सम्पर्क सञ्जाल तथा संयुक्त राष्ट्रसंघअन्तर्गत बहुपक्षीय सहकार्य लगायतका पारस्परिक लाभका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।
१९- युरोपेली नेसन्स लिगको नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ । वेम्बली रंगशालामा शनिबार राति भएको रोमाञ्चक खेलमा स्पेनले २-१ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो । खेलको दोस्रो मिनेटमै लामिन यामालले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए। इंग्ल्यान्डका मार्क गुएहीको गल्तीको फाइदा उठाउँदै यामालले गोल गरेका थिए । तर इंग्ल्यान्डले पहिलो हाफमै खेल उल्टायो । एन्थोनी गोर्डनले ३६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको चार मिनेटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्पेनले आक्रामक खेललाई निरन्तरता दियो । एलेक्स बाएनाले ६०औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएका थिए । त्यसपछि मिकेल ओयार्जाबालले ७४औँ मिनेटमा गोल गर्दै स्पेनलाई ३–२ को अग्रता दिलाए । बाँकी समयमा इंग्ल्यान्डले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेन । इंग्ल्यान्डले बराबरी गर्ने अर्को महत्वपूर्ण अवसर पनि गुमाएको थियो । ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । यस जितसँगै स्पेनले राष्ट्र लिगको समूह ए ३ मा विजयी सुरुवात गरेको छ । समूहमा स्पेन र इंग्ल्यान्डसँगै क्रोएसिया र चेक गणतन्त्र रहेका छन् । स्पेन र इंग्ल्यान्डबीचको अर्को खेल नोभेम्बर १५ मा स्पेनको मैदानमा हुनेछ ।
२०- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार कतारको दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले दोहा प्रस्थान गरेका हुन् । सोमबार र मंगलबार दोहामा हुने बैठकमा मन्त्री वाग्लेसहित अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल सहभागी हुदै छन् । एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अर्थमन्त्रीले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री डा. वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
